तस्वीरमा कर्णाली प्रदेशमा मतदान सम्पन्न पछिको अवस्था।


सुर्खेत — कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यमा रिक्त तीन सिटका लागि आज भएको निर्वाचनको मतदान तोकिएको समयअघि नै सकिएको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान तोकिएको समयभन्दा अघि नै सतप्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलले ‘कर्णाली प्रदेशमा मतदान सम्पन्न भएको छ । मत पनि सतप्रतिशत खसेको छ । अब ४ बजेबाट मतगणना हुन्छ । नतिजा पनि आज नै आउँछ’ — भन्नुभयो ।

कर्णाली प्रदेशमा कुल ७९ वटा पालिका रहेका छन् । कर्णालीमा एक सय ५६ जना जनप्रतिनिधि र प्रदेशसभाका ४० जना सांसद्हरुले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि भएको निर्वाचनमा मतदान गर्नुभएको छ ।

दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरुङको एक वर्षअगाडि मृत्यु भएको थियो भने जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको कात्तिक १७ गते भूकम्पका कारण मृत्यु भएको थियो । उहाँहरु बाहेक सबैजनाले सुर्खेत पुगेर आज मतदान गर्नुभएको हो ।

राष्ट्रियसभा सदस्यका लागि तीन सिटमा भएको निर्वाचनमा कर्णालीमा दलित, महिला र अन्यबाट गरी छ जनाको उम्मेदवारी परेको थियो । यसमध्ये सत्ता गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसको अन्यकोटाबाट रुकुम पश्चिमका कृष्णबहादुर रोकाया, नेकपा माओवादी केन्द्रका दलित कोटाबाट कालिकोटका विष्णु विक ‘विकल्प’ र नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) ले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रमुख प्रतिपक्ष दल एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विकले उम्मेदवारी दिनुभएको छ । आज सम्मन्न निर्वाचनको मतगणना दिउँसो ४ बजेबाट सुरु हुने र आजै साँझसम्ममा नतिजा आउँने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।