काठमाडौँ — त्रिभुवन विश्वविद्यालयबाट प्रदान गरिने शैक्षिक प्रमाणपत्रहरू अब अनलाइन प्रणालीमार्फत प्राप्त गर्न सकिने भएको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूबाट ट्रान्सक्रिप्ट, प्रोविजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपिलगायतका सेवाहरु अनलाइन प्रणालीमार्फत् नै दिनेगरी व्यवस्था मिलाउन लागेको हो ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले यहि माघ १५ अर्थात् आगामी सोमबारदेखि लागू हुनेगरी अनलाइन प्रणालीमार्फत शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने गरी तयारी भइरहेको जनाएको छ । त्यसका लागि आवश्यक पर्ने शुल्क अनलाइन मार्फत नै तिर्नुपर्ने र आवेदन पनि अनलाइन मार्फत नै दिनुपर्ने व्यवस्था गरेको छ । विद्यार्थीहरूको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय (प्रदेश कार्यालय) बाट वितरण गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यी सेवाहरू १५ माघ २०८० सोमबार बिहान १० बजेदेखि सञ्चालनमा आउने र केही समय अनलाइन र अफलाइन दुवै सेवाहरू सञ्चालन हुने पनिकाले जनाएको छ । नाम, थर आदी सच्याउने प्रक्रियाको लागि आवश्यक प्रमाणहरू आफू पायक पर्ने सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय वा बल्खुसिथत केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ ।

प्रमाणपत्रहरू सङ्कलन गर्दा स्वयम् वा इच्छाएको व्यक्ति मार्फत प्रमाणसहित आउनुपर्नेछ । यो प्रक्रियासँग सम्बन्धित केही समस्या भएमा इमेल वा फोन नम्बर मार्फत सूचना आदान प्रदान गरिने भएकाले आफ्नो सम्पर्क नम्बर र इमेल अनुसार नै आवश्यक कागजात अपलोड गर्न पनिकाले अनुरोध गरेको छ ।