फाइल तस्वीर


धनुषा — मधेश प्रदेश सरकारबाट जनमत पार्टी बाहिरिएको छ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका दुवै जनामन्त्रीहरुले आज मङ्गलबार मन्त्री पदबाट राजीनामा दिएर मधेश सरकारबाट बाहिरिनुभएको छ ।

जनमत पार्टीको आज बसेको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सो निर्णय पछि सरकारमा प्रतिनिधित्व गरेका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मन्त्री पदबाट राजीनामा दिनुभएको छ ।

मधेश प्रदेशको सरकारको नेतृत्व जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव गर्नुभएको छ । यादव एक वर्षदेखि मधेश सरकारको मुख्यमन्त्री रहँदै आउनुभएको छ ।

जनमत पार्टीका प्रवक्ता शरद सिंहले सरकार गठन भएको एक वर्षपछि सरकारको नेतृत्व सहमति अनुसार सरकारको नेतृत्व जनमत पार्टीलाई नदिएर जसपा नेपालले पूर्ववत सहमति उल्लङ्घन गरेको जनाएको छ ।