फाइल तस्वीर


पोखरा — ‘आहारारा पोखरा’ गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण आजदेखि सुरु हुँदैछ । मोफसलकै चर्चित फुटबल प्रतियोगिता आहारारा गोल्पकप आज मङ्गलबारदेखि पोखराको रङगशालास्थित फुटबल मैदानमा दिउँसो २ बजे हुने उद्घाटन हुनेछ ।

आजबाट सुरु हुने उक्त प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा क्लब पोखरा र काठमाडौंको थ्रीस्टार क्लबबीच हुनेछ ।

२०५८ सालदेखि निरन्तर हुँदै आएको आहारारा पोखरा गोल्डकपमा मोफसलकै चर्चित फुटबल प्रतियोगिता हो । यस प्रतियोगितामा अहिलेसम्म छ पटक फाइनलमा प्रतिस्पर्धा गरेको थ्रीस्टार क्लबले पाँच पटक र तीन पटक फाइनलमा पुगेको आयोजक क्लब सहाराले एक पटकमात्र उपाधि जितेका छन् ।

आज माघ ९ गतेबाट सुरु हुने उक्त प्रतियोगिताको फाइनल माघ २० गते शनिबार हुनेछ । नकआउट आधारमा हुने प्रतियोगिताको समूह चरणमा आज आयोजक सहारा क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यस प्रतियोगितामा ११ स्वदेशी टिम र एक विदेशी टिमसहित १२ टिमले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामासाविक विजेता सङ्कटा क्लब, तीन विभागीय टिमहरु नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपीएफसहित, मनाङ मर्स्याङ्दी, जावलाखेल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रीस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लब गरी ११ स्वदेशी क्लब र पाहुना टोली भुटानको राष्ट्रिय लिग विजेता क्लब पारो एफसी सहभागी हुने प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङले जानकारी गराउनुभएको छ ।

यसअघि आहारारा पोखरा गोल्डकपमा भारतीय लिगको सातौं स्थानमा रहेको दिल्ली एफसी सहभागी हुने बताइएको थियो । तर, दिल्लीले अन्तिम समयमा आउन नसक्ने बताएपछि विभागीय टिम एपीएफ भित्रिएको हो ।

माघ २० गतेसम्म चल्ने प्रतियोगितामा पुरस्कार तथा प्रोत्साहनमै २८ लाख ३२ हजार ५५५ रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता विजेताले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन् ।

आयोजक क्लब पोखराले यस वर्ष राष्ट्रिय टिमका मिडफिल्डर खेलाडी आयुष घलानलाई सम्मान गर्नेभएको छ । सहारा वर्षोत्कृष्ट खेलाडीको रुपमा उनलाई सम्मान गर्न लागिएको हो । वि.सं. २०७४ देखि प्रत्येक वर्ष एकजना उत्कृष्ठ एक जना फुटबल खेलाडीलाई सम्मानसहित राशि ५० हजार रुपैयाँ आयोजकले प्रदान गर्दै आएको छ ।

सहारा वर्षोत्कृष्ट खेलाडीका रुपमा नेपाल आर्मी क्लब क्याप्टेन तथा नेपाली फुटबल टिमका फर्वाड भरत खवास, राष्ट्रिय टिमका क्याप्टेन किरणकुमार लिम्बु, फर्वाड अञ्जन बिष्ट र अनन्त तामाङका साथै सुजल श्रेष्ठ, अभिषेक रिजाल यो पुरस्कारबाट सम्मानित भएका छन् ।

विश्वकप छनोटका लागि कुवेत सिटीमा भएको अस्ट्रेलियाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका हेटौंडाका घलानले सन् २०२१ मा भएको साफ च्याम्पियनसिपमा राष्ट्रिय टिमका लागि पहिलो गोल गरेका थिए ।

आयुषले भारतको भुवनेश्वरमा भएको साफ यू–२० च्याम्पियनसिपमा नेपालको कप्तानी भूमिका निभाइसकेका छन् । मिडफिल्डर घलानले पोखरा थन्डर्स, थ्रीस्टार, संकटा र मच्छिन्द्र क्लबबाट आफ्नो खेल कौशलता प्रदर्शन गरिसकेका छन् ।

यसअघि फुटबलर भरत खवास, किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन बिष्ट र अनन्त तामाङ सहारा वर्षोत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भइसकेका छन् ।