काबुल — उत्तरी अफगानिस्तानको बदख्शान प्रान्तमा शनिबार दुर्घटनाग्रस्त भएको एक रुसी यात्रुवाहक विमानमा जीवित रहेका चार जनालाई राजधानी काबुल लगिएको अफगान कार्यवाहक सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोमबार बताउनुभएको छ । सबै घाइतेले प्राथमिक उपचार पाएको र उनीहरूको अवस्था स्थिर रहेको मुजाहिदले सामाजिक सञ्जाल एक्समा भन्नुभयो ।

चार चालक दल र दुई यात्रुसहित छ जना सवार रुसी यात्रुवाहक विमान शनिबार अफगानिस्तानको हवाई क्षेत्रमा बेपत्ता भएको र दुर्घटनाग्रस्त विमान आइतबार बदख्शानको कोफ अब जिल्लामा फेला परेको बताइएको छ । 

अफगान प्रशासनको उद्धार टोलीले आइतबार पाइलटसहित घाइते चारजनालाई फेला पारेको थियो । यसैबिच एक अधिकारीले आइतबार साँझ दुर्घटनाग्रस्त विमान र चार घाइते भेटिएको र बाँकीको हवाई दुर्घटनामा मृत्यु भएको पुष्टि गरेका छन् ।