फाइल तस्वीर
काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अहिले देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकाले आज पनि दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने अनुमान महाशाखाले गरेको छ । विगत केही दिनदेखि शीतलहरसँगै हुस्सु र कुहिरो लाग्दा तराई मधेशको जनजीवन कष्टकर बनेको छ ।

आज राति पनि देशका पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । आज पानी पर्ने सम्भावना भने कतै देखिएको छैन । तर, राति कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि मङ्गलबार सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ भने कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।