साङ्केतिक तस्वीर


देउखुरी — बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । सो दुर्घटनामा परी मृत्यु हुनेमा बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरी रहेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिनुभएको हो ।

बसमा सवार ४७ जना मध्ये दुई जनाको मृत्यु र दुई जना घाइते भएको प्रहरीले जनाएको छ । बसमा यात्रा गर्ने अन्य यात्रु सकुशल रहेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

मृत्युभएका दुवै जनाको शवलाई लमही अस्पतालमा राखिएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । अगाडि बसेका व्यक्ति हुत्तिएर च्यापिन पुगेकाले दुई जनाको मृत्यु हुन पुगेको प्रहरीले जनाएको छ ।