फाइल तस्वीर

काठमाडौँ — मधेस कृषि विश्वविद्यालयको भवन शिलान्यास गर्ने विषयमा दुई पार्टीबीच विवाद चुलिएको छ । केही दिनदेखि कृषि विश्वविद्यालयको भवन शिलान्यास गर्ने विषयलाई लिएर जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीबीच विवाद उत्पन्न भएको हो ।


सप्तरीको राजविराजमा रहेको उक्त विश्वविद्यालयको भवन जसपा नेपालका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाउने शिलान्यास गर्ने तयारी भएपछि सोको विरोध गर्दै जनमत पार्टीको आपत्ति जनाउँदै आएको थियो । सोही विवादका कारण जनमत पार्टीले उक्त विश्वविद्यालयमा तालबन्दी गर्दै विभिन्न मागसमेत राखेको छ ।

द्वन्द्व बढ्दै गएपछि माघ ८ गते हुने शिलान्यास कार्यक्रमलाई स्थगित गर्न मधेस प्रदेश सरकारका शिक्षा मन्त्री महेश यादवले मुख्यमन्त्री सरोज यादवलाई आग्रह गर्नुभएको र मुख्यमन्त्री यादवले सबै तयारी पूरा भएका कारण यसलाई स्थगित गर्न नमिल्ने भन्दै जवाफ दिएपछि त्यहाँ थप विवाद चर्किएको छ ।

उक्त विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले विश्वविद्यालयलाई राजनीतिकरण गरेका कारण आफ्नो पार्टीले तालाबन्दी गर्नुपरेको जनमत पार्टीका सप्तरी जिल्ला इञ्चार्ज रामगमन साहको भनाई छ ।

जनमत पार्टीले सो विश्वविद्यालयको भवन निर्माणमा अनियमितता भएको, परीक्षा बोर्ड गठन नगरी आफ्नै तरिकाले परीक्षा लिएको र विद्यार्थीको भविष्य अन्योलमा राखेको भन्दै आज तालाबन्दी गरेको हो ।

विश्वविद्यालयको भवन शिलान्याश कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएकोमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आपत्ति जनाउँदै आउनुभएको थियो । यस अघि जसपाका अध्यक्ष उपेन्द्र यादवबाट विश्वविद्यालयको शिलान्यास गरिएमा त्यसको प्रतिकार गर्ने चेतावनी दिनुभएको थियो ।

जनमत पार्टीबाट प्रतिनिधिसभा सदस्य समेत रहनु भएका डा.राउतले विश्वविद्यालयको भवन निर्माणलगायत अन्य कार्यका लागि आफुले ३० करोड बजेट दिलाउन विशेष पहल गरेको भन्दै जसपा अध्यक्षलाई शिलान्यास गर्न नदिने बताउनुभएको थियो ।

मधेसमा नयाँ शक्तिको रुपमा उदाएको जनमत पार्टीले सप्तरी —२ बाट निर्वाचत सांसद यादवलाई नै मुख्य अतिथि बनाइ उक्त विश्वविद्यालयको शिलान्यास गर्नु उपयुक्त नभएको भन्दै विरोध गर्दै आएको छ ।

मधेश कृषि विश्वविद्यालय भवनको शिलान्यास भोलि जसपाका अध्यक्ष एवम् सांसद् उपेन्द्र यादवबाट गर्ने कार्यक्रम तय भैसकेको छ । यद्यपि, कार्यक्रममा सहभागी हुन पठाइएको निमन्त्रणा पत्रमा भने प्रमुख अतिथि को हुने भन्ने खुलाइएको छैन ।

भोलि सोमबार सप्तरीमा हुने विश्वविद्यालयको शिलान्यास कार्यक्रमका लागि सुरक्षा व्यवस्था कडा पार्ने मधेस सरकारको तयारी छ भने जनमत पार्टीले त्यसको प्रतिकार गर्ने तयारी गरिरहेको छ ।