फाइल तस्वीर
वालिङ — स्याङ्जाको वालिङ नगरपालिका–१३ बोधिभञ्ज्याङका एक सय ४२ घरधुरीमा ‘एक घर एक धारा’ जडान गरिएको छ । गाउँभन्दा धेरै टाढाबाट यसअघि ल्याइएको खानेपानीमा समस्या आएपछि गण्डकी प्रदेश सरकारको सहयोगमा गाउँमा खानेपानी पु¥ याइएको हो ।

बोधिभञ्ज्याङ मूल संरक्षण तथा खानेपानी आयोजनाअन्तर्गत आँधीखोलाको किनारमा रहेको मुलबाट पानी तानेर गाउँमा वितरण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाका सबइञ्जिनियर वसन्तकुमार सुवेदीले बताउनुभयो ।

आव २०७६/७७ देखि सुरु भएको उक्त योजना हालैमात्र सम्पन्न भई सञ्चालनमा आएको उहाँले बताउनुभयो । रु दुई करोड १५ लाख ५६ हजार लागत अनुमान रहेको उक्त योजना गण्डकी प्रदेश सरकार र स्थानीयको जनश्रमदान गरी रु एक करोड ३७ लाख २५ हजारमा सम्पन्न भएको हो ।

वालिङ–१३ को झलुङ्गेस्थित आँधीखोलाको किनारबाट विद्युत्को प्रयोग गरी पानी तानेर वितरण गरिएको उपभोक्ता समितिका सचिव ध्रुव गौडेलले बताउनुभयो । “लामो दूरीबाट ल्याइएको पानीमा पटकपटक समस्या आएपछि नयाँ योजनाको खोजीमा थियौँ”, उहाँले भन्नुभयो, “आँधीखोलाको किनारमा रहेको मुल नजिकै ट्याङ्की निर्माण ग¥यौँ त्यहाँबाट गाउँभन्दा माथि रहेको खरबारीमा एक लाख लिटर क्षमताको सङ्कलन ट्याङ्की निर्माण गरी त्यसैबाट गाउँका घरघरमा वितरण गरेका छौँ ।”

झलुङ्गे, बोधिभञ्ज्याङ, पीपलछापका प्रत्येक घरघरमा पाइपमार्फत पानी पु¥ याइएको छ । उक्त ठाउँमा रहेका विद्यालय, प्रहरीचौकी, वडा कार्यालय, समाज भवन, सार्वजनिकस्थलमा समेत धारा जडान गरिएको छ ।

प्रत्येक घरमा २४सैँ घण्टा पानी खोल्ने गरिएको छ । घरघरमै पानी सहजरुपमा आएसँगै खोल्साखोल्सी, कुवामा पानी लिन जानुपर्ने बाध्यताको अन्त्य भएको छ । टाढाबाट पानी बोकेर खानुपर्ने अवस्थाको अन्त्य भएपछि स्थानीय खुसी छन् । दैनिक पानी खोल्न, बन्द गर्न तथा मर्मतसम्भारका लागि एक जना कर्मचारी राखिएको सचिव गौडेलले बताउनुभयो ।

खानेपानी आयोजनाले पानी तान्नका लागि मासिकरुपमा रु चार हजार पाँच सयदेखि रु छ हजार पाँच सयसम्म विद्युत् महसुल बुझाउँदै आएको छ । गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले लिफ्ट खानेपानीमा प्रयोग हुँदै आएको विद्युत्मा अनुदान दिने नीति ल्याएकाले विद्युत् महसुलको अनुदान प्राप्तिका लागि प्रक्रिया अगाडि बढाएको सचिव गौडेलले बताउनुभयो ।