फाइल तस्वीर


काठमाडौँ — दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज टेस्ट टोली न्यूजिल्याण्डको सामना गर्दैछ । नेपाल र न्यूजिल्याण्डबीच आज हुने खेल वेस्ट लण्डनमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजेबाट सुरु हुनेछ ।

देव खनालको कप्तानीमा मैदानमा उत्रने नेपाली टिमका लागि समूह ‘डी’ बाट शीर्ष तीनमा रहँदै सुपर सिक्स खेल्न आजको नतिजा महत्वपूर्ण हुनेछ । नेपालविरुद्ध ओस्कर ज्याक्सनको नेतृत्वमा मैदानमा उत्रन लागेको न्युजिल्याण्डको लागि पनि आजको जित आवश्यक छ । सुपर सिक्स खेल्न दुवै टोलीलाई आजको नतिजा निकै महत्वपूर्ण हुनेछ ।

यू–१९ विश्वकप इतिहासमा नेपालले सधैं न्युजिल्याण्डलाई पछार्दै आएको छ । न्यूजिल्याण्डसँग नेपालले हारेको रेकर्ड छैन । यस अघि नेपाल र न्यूजिल्याण्ड एक आपसमा दुई पटक खेलिसकेका छन् । दुवै खेलमा नेपालले बाजी मारेको छ ।

सन् २००६ मा भएको प्लेट फाइनलमा एक विकेट र २०१६ को समूह चरणको भेटमा ३२ रनले नेपाल विजयी भएको थियो । सिनियर टोलीले विश्वकपमा सानदार प्रदर्शन गरे पनि यू–१९ भने तुलनात्मक रुपमा न्युजिल्याण्डको प्रदर्शन कमजोर देखिन्छ ।

दक्षिण अफ्रिका तीव्र गतिका बलरलाई बढी सहयोग मिल्ने गर्दछ । नेपालका गुलशन झाको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । सिनियर टोलीका प्रमुख अलराउण्डर समेत रहेका गुलशनबाट टोली ब्याटिङ र बलिङ दुवैमा ठूलो अपेक्षा गर्नेछ । भारत, पाकिस्तान र वेस्टइन्डिज जस्ता ठूला टोलीविरुद्ध खेलेको अनुभव लिइसकेका खेलाडी गुलशनल यसअघि नेपालको लागि २४ ओडीआई र १४ टी–२० आई खेल खेलेका छन् ।

बायाँ हाते तीव्र गतिका बलर दुर्गेश गुप्ता र आकाश चन्द पनि नेपालका तीव्र गतिका बलिङ हतियार मानिन्छन् । यता ब्याटिङमा देव खनाल, अर्जुन कुमाल र गुलशन झा प्रमुख हतियार हुन् । कप्तान देव खनालले सिनियर टोलीबाट १० ओडीआई खेल खेलिसकेका छन् । यू–१९ मा पछिल्लो एक वर्षमा देवले तीन र अर्जुनले दुई शतक हानेका छन् । टोलीका सबैभन्दा भरपर्दा यी दुई ब्याटरबाट नेपाल आज ठूलो इनिङ चाहन्छ ।

यसअघि दुई पटक मात्र समूह चरण पार गरेको नेपालले आड वर्षपछि यू–१९ विश्वकपमा पुनरागमन गर्दा फेरि समूह चरण पार गर्ने लक्ष्य राख्दै आज न्यूजिल्याण्डसँग भिड्दैछ ।

आज पहिलो खेल न्यूजिल्याण्डसँग खेल्न लागेको नेपालले आफ्नो दोस्रो खेल जनवरी २४ तारिखमा पाकिस्तानसँग खेल्नेछ भने तेस्रो खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।

देव खनालको कप्तानीमा रहेको नेपाली टोलीमा अर्जुन कुमाल, दुर्गेश गुप्ता, आकाश त्रिपाठी, गुलशन झा, दिपेश कँडेल, दीपकप्रसाद डुम्रे, विशालविक्रम केसी, सुवाश भण्डारी, दीपक बोहरा, उत्तम रङ्गु थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलकराज भण्डारी, आकाश चन्द रहेका छन् ।

यसैगरी ओस्कर ज्याक्सनको कप्तानीमा रहेको न्युजिल्याण्डको टोलीमा टम जोन्स, जेम्स नेल्सन, एलेक्स थोमप्सन, लाचलान स्टकपोल, ज्याक कमिङ, एलेक्स थोमप्सन, ओलिभर टेवाटिया, म्याट रवह् रयान त्सोगर्स, ल्यूक वाटसन, साम क्लोड, मासन क्लार्क, स्नेहिथ रेड्डी र रबी फोल्क्स रहेको छन् ।
आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु भएको हो ।