तस्वीर, आगामी वर्ष नेपालमा लगानी सम्मेलन गर्ने तयारीको बैठक ।


काठमाडौँ — सरकारले आगामी वर्ष नेपालमा लगानी सम्मेलन गर्ने तयारी गरेको छ । चालु आर्थिक वर्षको अन्त्यतिर अर्थात् आगामी वैशाख दोस्रो साता लगानी सम्मेलन गर्न तयारी सुरु गरेको हो ।

लगानी सम्मेलनका लागि आगामी वैशाख १६ र १७ गते गर्ने तय भएको छ । नेपालले तेस्रो पटक लगानी सम्मेलन गर्न लागेको हो । उक्त सम्मेलनको तयारीका लागि सरकारले विभिन्न समितिहरुसमेत गठन गरिसकेको छ । अर्थमन्त्री अर्थमन्त्री प्रकाशशरण महतको नेतृत्वमा निर्देशक समिति, मुख्यसचिवको संयोजक रहनुभएको मुख्य समिति, भौतिक पूर्वाधार तथा यातायत सचिवको नेतृत्वमा नीतिगत सुधार समिति, उद्योग वाणिज्य तथा आपूर्तिका सचिवको नेतृत्वमा प्राविधिक समिति गठन गरिएको छ ।

अर्थमन्त्री महतको नेतृत्वमा बनेको निर्देशक समितिले लगानी सम्मेलनको ढाँचा र कार्यतालिका बनाउनेछ । समितिको बैठक पनि बस्दै आएको छ । अर्थमन्त्रालयका अनुसार अहिलेसम्म समितिको बैठक तीन पटक बसिसकेको छ ।

यसैगरी मुख्यसचिवको संयोजक रहनुभएको मुख्य समिति बनाइएको छ । त्यो समितिले मुख्य आयोजनाहरु शोकेस गर्ने र गराउने तयारी गर्नेछ । आयोजना तयारीको रुपमा रहने छ । मुख्यसचिवको संयोजकत्वमा गठित मुख्य समितिले सङ्घ, प्रदेश र स्थानीय तहका शोेकेसमा लैजान सकिने सम्भाव्य आयोजनाको विवरण तयार गर्ने काम समेत गर्नेछ ।

यसैगरी भौतिक पूर्वाधार तथा यातायत सचिवको नेतृत्वमा गठित समितिले नीतिगत सुधारका आवश्यक कामहरु गर्ने भने उद्योग वाणिज्य तथा आपूर्तिका सचिवको नेतृत्वमा गठित प्राविधिक समितिले विकासे मन्त्रालयलाई आयोजना र ती आयोजनाको पछिल्लो अवस्थाबारेको रिपोर्ट तयार गर्ने जिम्मेवारी दिइनेभएको छ ।

लगानी सम्मेलनमा जोडिने अन्तक्र्रिया, छलफलको काम निरन्तर चलिरहेको छ । लगानीयोग्य वातावरण तयार गर्ने र कार्यक्रम सुधारका काम र उत्पादन कस्तो रहने भन्ने विषय नै महत्वपूर्ण कुरा हो ।

सरकारले लगानी सम्मेलन गर्नुको मुख्य धेय ठूला आयोजनाहरुमा समझदारी गराउने रहेको छ । विभिन्न सार्वजनिक फोरमहरुमा अर्थमन्त्री महतले नाममात्रैको लागि लगानी सम्मेलन नहुने दावी गर्दै आउनुभएको छ ।

प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थलमा भारतीय कम्पनी अदानी ग्रुपले विशेष चासो देखाएको छ । उसले नेपालका उद्योगपति एवम् नेपाली काङ्ग्रेसका सांसद् विनोद चौधरीमार्फत सम्पर्क बढाइरहेको छ । केही विदेशी लगानीकर्ताहरुले नेपालका ठूला आयोजनाहरुमा लगानी गर्न चासो देखाइरहेको अवस्था छ ।

निजगढ विमानस्थल बहुप्रतिष्ठित नेपालको महत्वपूर्ण आयोजनामध्येको एक हो । त्यसैले यो विमानस्थल बनाउन विदेशी लगानीकर्तालाई आकर्षित गर्न नेपाल सरकार पनि तयारी अवस्था रहेको बुझिन्छ । यो विमानस्थल बनाउन सुरुमा एक खर्ब २० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । तर यो रकम उक्त विमानस्थल निर्माणका लागि न्यून हुन सक्दछ । निजगढ विमानस्थल निर्माणका लागि सुरुमा एउटा धावनमार्गसहितको विमानस्थल निर्माण हुनसक्ने बताइएको छ ।

सरकारले चालू आर्थिक वर्षको बजेटमै निजगढ विमानस्थलको पूर्वतयारीको काम थाल्न बजेट विनियोजन गरेको छ । उड्डयन प्राधिकरणले विमानस्थलको चारकिल्लासहितका प्रक्रिया अघि बढाउने काम पनि गरिएका छन् ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरणको मुख्य परियोजना पनि हो । त्यसैले प्राधिकरणले पनि यो परियोजनालाई कार्यान्वनय गर्न आन्तरिक रुपमा पहल गरिरहेको छ ।

अदानी ग्रुपले विद्युतको प्रसारण लाइनमा पनि लगानी गर्ने चासो देखाएको छ । नेपाल र भारतबीच हालै भएको विजुली खरिदविक्री सम्झौताबाट नेपालमा विद्युत उत्पादन र सोसँग सम्बन्धि ठूला आयोजनामा लगानी गर्ने सङ्केत देखाइरहेकाछन् ।

नेपाल र भारतबीच विजुली खरितविक्री सम्झौता पूर्व यस सम्बन्धमा धेरै बहस र छलफल भएको थियो । ऊर्जा मन्त्रालयका अनुसार ढल्केबर सबस्टेसनमा आवश्यक पूर्वाधार निर्माण भएपश्चात् हाल सञ्चालनमा रहेको पहिलो अन्तर्देशीय ढल्केबरदेखि मुजफ्फरपुरको चार सय किलोभोल्ट प्रसारणलाइनबाट हुने विद्युत् आयातनिर्यातको परिमाण आठ सय मेगावाटबाटभन्दा बढी पुर्याउने सम्बन्धमा संयुक्त प्राविधिक समितिमार्फत अध्ययन गराउने सहमति भएको छ ।

लगानी सम्मेलनको तयारी, विगतका कमजोरी सच्याउने र त्यस अनुभवबाट पाठ सिक्ने र सम्मेलनमा सहभागीहरूमा कस्ता प्रस्ताव लैजाने भन्ने विषय बैठकमा छलफल भएको छ। सम्मेलनामा नेपाली, वैदेशिक लगानीकर्ता र गैरआवासीय लगानीकर्ताहरूको सहभागिता रहनेछ।

विदेशी लगानीकर्ताहरुले नेपालको राजनीतिक स्थायीत्वलाई हेरेर लगानीको वातावरण र लगानी सुनिश्चितता खोजीरहेका छन् । सरकारले आगामी वर्ष गर्ने लगानी सम्मेलनलाई सार्थकता बनाउन देशकालागि दीर्घकालीन रुपमा फाइदा हुने परियोजनाहरुको बारेमा विस्तृत अध्ययन र अनुसन्धान गर्नुपर्नेदेखिन्छ । वैदेशिक लगानी भित्र्याउँदा पार्नसक्ने सकारात्मक नकारात्मक प्रभावहरुको पनि विश्लेषण गर्नु आवश्यक हुन्छ ।