तस्वीरमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसाल ।


काठमाडौँ — सरकारले कृषि क्षेत्रमा रहेका समस्या समाधान गर्न कृषि ऐन ल्याउने भएको छ । दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस एवं सप्ताह समारोह समितिले आयोजना गरेको ‘कृषि जैविक विविधता एवं रैथाने बालीउपज प्रदर्शनी’ कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले सो बारेमा जानकारी गराउनुभएको हो ।

मुलुकमा आर्थिक रुपान्तरणका लागि कृषि क्षेत्रको विकास र विस्तार गरी आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुहुँदै मन्त्री भुसालले प्रविधिको प्रयोगबाट कृषि क्षेत्रमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्ने बताउनुभयो । यस कार्यका लागि सरकारले ल्याउन लागेको कृषि ऐनले सहयोग पु¥याउने मन्त्री भूसालले दावी गर्नुभयो ।

मुलुकका विभिन्न जातका रैथाने बालीको संरक्षण गर्नुपर्ने आवश्यकता रहेको औल्याउँदै मन्त्री भूसालले स्वदेशी तथा मौलिक विशेषता बोकेका रैथाने कृषिउपज लोपोन्मुख हुँदै गएकाले तिनको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

मौसम अनुकूल बीउको सञ्चितीकरण र त्यसको जगेर्ना गर्नुपर्ने बताउँदै उहाँले कृषि अनुसन्धान तथा कृषि विज्ञानका क्षेत्रमा प्राप्त भएका उपलब्धिको सदुपयोग गर्दै कृषि उत्पादन वृद्धि गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रदर्शनीमा परम्परागत प्रविधिका ओखल, ठेकी, मदानी, जाँतो, फलफूल, खाद्य सामग्री, सामुदायिक उत्पादनका बीउ बैंक, राउटेले निर्माण गरेका आरी, लोपोन्मुख खाद्यान्नसमेत राखिएको छ ।