फाइल तस्वीर
मुग्लिन — नारायणगढ—मुग्लिन खण्डमा इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलबाट आज बिहान त्रिशूली नदीमा खसेको जीप नदीबाट निकालिएको छ । घटना घटेको केहीबेर पछि नै परिचालन भएको गोताखोरले दुर्घटनामा परेको उक्त जिप नदीबाट निकालेका हुन् ।

प्रहरीका अनुसार बिहान पौने पाँच बजे त्रिशूली नदीमा गाडीको लाइट बलेको देखेपछि जीप खसेको खुलेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट बी आर ०९ जीसी १४३० नम्बरको सिंगल क्याबिन भएको सेतो रङको बोलेरो प्रहरीले नदीबाट निकालेको हो । तर जिपका चालक वा यात्रु भने भेटिएका छैनन् । उक्त जिपमा कति जना सवार थिए भन्ने विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

जिप त्रिशूली नदीमा खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको गोताखोरको टोली त्यहाँ पुगेको थियो । गोताखोरको टोलीले जिप पानीभित्र भेट्टाएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताउनुभयो । त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।