फाइल तस्वीर


काठमाडौँ — रसुवामा निर्माणाधीन लाङटाङ–भोटेकोशी जलविद्युत् आयोजनाले वैदेशिक लगानी भित्र्याएको छ । लाङटाङ–भोटेकोशी जलविद्युत् आयोजनाका प्रवद्र्धक एवम् सांसद दीपक खड्काका अनुसार चीनको बैङ्क अफ चाइनाबाट करिब १९ अर्ब ८५ करोड ७० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको हो ।

कूल एक सय २० मेगावाट क्षमताको उक्त आयोजनाको कूल लागत २४ अर्ब ९५ करोड ४४ लाख ७३ हजार रुपैयाँ बराबर रहेको छ । लाङटाङ–भोटेकोशी जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छ ।

आयोजनामा संस्थापक लगानीकर्ताहरूले पाँच अर्ब नौ करोड ७४ लाख ७३ हजार रुपैयाँ बराबर लगानी गरेका छन् । नेपाल राष्ट्र बैङ्कको स्वीकृतिमा स्वपुँजीका रूपमा पाँच अर्ब नौ करोड ७४ लाख ७३ हजार रुपैयान् बराबर भित्रीसकेको छ । आयोजनाले १९ अर्ब ८५ करोड ७० लाख रुपैयाँ बराबरको उक्त रकम भने ऋृणमा ल्याइएको हो । प्रवद्र्धकसमेत रहनुभएका काङ्ग्रेस सांसद खड्काका अनुसार आयोजनाको सम्पूर्ण वित्तीय व्यवस्थापन भइसकेको छ । सो आयोजनाका लागि विद्युत् विकास विभागले आगामी फागुन २ गतेसम्म वित्तीय व्यवस्थापन गर्ने समयसीमा तोकेको थियो ।

आयोजनामा चिनियाँ कम्पनीको ९० प्रतिशत र नेपाली पक्षको दस प्रतिशत लगानी रहेको छ । आयोजनाका लागि आवश्यक रकम भित्र्याउने सम्बन्धमा प्रवर्द्धक कम्पनी लाङटाङ–भोटेकोशी जलविद्युत् आयोजना र चीनको निर्यात आयात बैङ्क सिचुआन शाखाबीच गत पुस २३ गते सम्झौता भएको थियो ।

सांसद खड्काको पहलमा अगाडि बढाइएको उक्त आयोजना चिनियाँ निर्माण कम्पनी सिचुवान हुवानी इनर्जी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले निर्माण गरिरहेको छ । विसं २०७६ पुसमा शिलान्यास भएको उक्त आयोजना निर्माणको काम भइरहेको छ ।

सरकारले राखेको विद्युत् विकासको लक्ष्यलाई साकार पार्ने उद्देश्यका साथ आफूले पनि जलविद्युत् आयोजना निर्माण गरिरहेको जानकारी दिँदै उक्त आयोजनाका प्रवद्र्धक खड्काले ‘सरकारले गर्नुपर्ने काममा मेरोतर्फबाट पनि सानो सहयोग होओस् भन्ने ध्येयका साथ वैदेशिक लगानी भित्र्याइएको’ बताउनुभएको छ ।

उक्त जलविद्युत आयोजना निर्माणमा रसुवाको फङ्लुङखोला र भोटेकोशीको दोभानदेखि करिब एक सय ५० मिटरमाथि भोटेकोशी नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ भने चार हजार आठ सय ३५ मिटर लामो सुरुङ निर्माण गरिने छ ।

स्थानीय चिलिमेखोला र भोटेकोशीको सङ्गमस्थलमा विद्युतगृह निर्माण गरिने आयोजनाले जनाएको छ । परियोजनाको निर्माण कार्य कोरोनालगायत काबु बाहिरको परिस्थितिका कारणले असर परे पनि हाल २० प्रतिशत बराबरको भौतिक प्रगति भएको छ । विद्युत् विकास विभागले आवश्यक प्रक्रिया पूरा भएको जनाएको छ । आयोजना शीघ्र निर्माण गर्ने गरी प्रवर्द्धक कम्पनीले गति दिएको छ ।

आयोजनाबाट उत्पादित बिजुली सुक्खायाममा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसामा खरिद गर्ने सम्झौता २०७४ पुस ७ गते भएको थियो । रसुवाको स्याफ्रबेँसी नजिकै आयोजनास्थल भएकाले पनि उपकरण ढुवानी, निर्माण सामग्रीको जोहो गर्न सहज भएको छ । आयोजनाबाट उत्पादित बिजुली करिब पाँच किलोमिटर लामो एक सय ३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको चिलिमे हब सबस्टेशनमा जोडिनेछ ।

नदी प्रवाहमा आधारित सो आयोजना चार वर्षभित्र निर्माण गर्ने लक्ष्यका साथ सुरु भएको हो । सरकारले स्वपुँजी २० प्रतिशत भन्दाघटी र विदेशी पुँजी ८० प्रतिशत भन्दाबढी नहुने गरी एक सय मेगावाटभन्दा ठुला आयोजनामा अमेरिकी डलरमै विद्युत् खरिदबिक्री सम्झौता गर्ने निर्देशिका ल्याएको थियो ।

सो अनुसार नै लाङटाङ भोटेकोशी आयोजनाका हकमा अधिकतम दस वर्षसम्म अमेरिकी डलरमा भुक्तानी गर्ने र त्यसपछि नेपाली रुपैयाँमै भुक्तानी गर्ने गरी सम्झौता भएको छ । यसैगरी चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीका रूपमा रहेको रसुवागढी र साञ्जेनले निर्माण गरेका तीन आयोजना अन्तिम चरणमा पुगेका छन् । कूल एक सय ११ मेगावाट क्षमताको सो आयोजनाले वार्षिकरुपमा छ सय १३ गिगावाट घण्टा बराबरको ऊर्जा उत्पादन गर्नेछ ।

साञ्जेन जलविद्युत् आयोजनाअन्तर्गतको १४ दशमलव आठ मेगावाट क्षमताको माथिल्लो साञ्जेन जलविद्युत् आयोजना पनि निर्माण भएको छ । यसैगरी रसुवाका आमाछोदिङ्गो गाउँपालिका–५ मा निर्माणाधीन ४२ दशमलव पाँच मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजनाको मुख्य सुरुङमा गत पुस ११ गते बुधबारदेखि पानी भर्ने काम सुरु भएको छ । सो आयोजनाको परीक्षणको काम हाल भइरहेको छ ।

यस्तै लाङटाङ खोलामा २० मेगावाट क्षमताको लाङटाङखोला जलविद्युत् आयोजना निर्माणको क्रममा छ । रसुवामा मात्रै कूल पाँच सय ८४ मेगावाट क्षमताका आयोजना निर्माणका विभिन्न चरणमा छन् । त्यसमध्ये २२ मेगावाट क्षमताको चिलिमे २०७१ सालदेखि सञ्चालनमा छ । जलविद्युत् आयोजनाका लागि केन्द्रका रूपमा स्थापित सो जिल्लामा पहिचान भएका अन्य आयोजनालाई पनि शीघ्र निर्माणको प्रक्रियामा अगाडि बढाउने सरकारको लक्ष्य रहेको छ ।