फाइल तस्वीर


काठमाडौ– मुलुकको अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको भनिता पनि सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ छ महिनामा राजस्व सङ्कलन गर्न सकेको छैन । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा सरकारको लक्ष्य अनुरुप राजस्व सङ्कलन हुन नसकेको तथ्य सार्वजनिक भएको हो ।

रावस्व आम्दानी लक्ष्य अनुसार उठ्न नसक्दा सरकारको खर्च बढी भएको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा मुलुकले ४८ अर्ब ४६ करोड ५७ लाख रुपैयाँ बराबर बजेट घाटा व्यहोरेको छ । चालु आवका लागि सरकारले कूल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ बराबर राजश्व उठाउने लक्ष्य लिएकोे छ । तर कार्यालयको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा जम्मा पाँच खर्ब १८ अर्ब १५ करोड ५६ लाख रुपैयाँ बराबर राजश्व असुली भएको छ । यो वार्षिक लक्ष्यको ३५ दशमलव १९ प्रतिशत बराबर हो । छ महिनामा कर राजश्वतर्फ ३३ दशमलव ९८ प्रतिशत अर्थात् चार खर्ब ४३ अर्ब ५५ करोड २० लाख रुपैयाँमात्र उठेको छ । गैरकरतर्फ वार्षिक लक्ष्यको ४५ दशमलव २३ प्रतिशत अर्थात् ५२ अर्ब ९४ करोड ७८ लाख रुपैयाँ बराबर असुली देखिन्छ ।

प्राप्त तथ्याङ्क अनुसार चालु आवका लागि कूल ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखिएकामा हालसम्म पाँच दशमलव ५२ प्रतिशत अर्थात् जम्मा दुई अर्ब ७५ करोड ८० लाख रुपैयाँ बराबर वैदेशिक अनुदान प्राप्त भएको छ । चालु आवका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको वार्षिक बजेट रहेको मध्ये पुस मसान्तसम्ममा जम्मा पाँच खर्ब ६६ अर्ब ६२ करोड १३ लाख रुपैयाँ मात्र खर्च भएको छ । जब की यो वार्षिक लक्ष्यको ३२ दशमलव ३५ प्रतिशत बराबर हो ।

यसैगरी चालुगत शीर्षकमा कूल ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ बराबर बजेट छुट्याइएकामा ३८ दशमलव ३१ प्रतिशत अर्थात् चार खर्ब ३७ अर्ब ३८ करोड १२ लाखमात्र खर्च भएको देखिएको छ । चालु शीर्षकमा हालसम्म भएको खर्च वार्षिक लक्ष्यको ३८ दशमलव ३१ प्रतिशत हो ।

त्यसैगरी, पुँजीगत खर्च शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख बराबर छुट्याइएकामा यो छ महिनाको अवधिमा जम्मा १६ दशमलव तीन प्रतिशत अर्थात् ४९ अर्ब २३ करोड ५८ लाख रुपैयाँ बराबर खर्च भएको छ । वित्तीय व्यवस्थामा तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख रुपैयाँ बराबर बजेट विनियोजन भएकामा २६ दशमलव दुई प्रतिशत अर्थात् ८० अर्ब ४३ लाख रुपैयाँ बराबर खर्च भएको छ ।