फाइल तस्वीर


काठमाडौँ — देशभर आज माघे सङक्रान्ति पर्व मनाइँदैछ । विशेषगरी थारु र मगर समुदायले माघ १ गतेलाई विशेष उल्लासका साथ मनाउने यो पर्व पछिल्लो समयमा सबै धर्म जात जातिहरुले मनाउन थालेकाले माघे सङ्क्रान्ति पनि विशेष पर्वको रुपमा मनाउने प्रचलन बढेको हो ।


आजबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भन्ने गरिन्छ । यसै पर्वको उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना व्यक्त गर्नुभएको छ ।

थारु र मगर समुदायले आज यसै पर्वका अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्दैछन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड लगायतका विशिष्ट व्यक्तित्वलाई निम्तो गरिएको छ । प्रधानमन्त्रीले आज थारु र मगर समुदायले आयोजना गर्ने विशेष कार्यक्रमलाई सम्बोधन समेत गर्नुहुनेभएको छ ।

थारु समुदायले भने माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । थारु समुदायले माघ १ गतेदेखि गाउँको नयाँ नेतृत्व चुन्ने, नयाँ कामको थालनी गर्ने, नयाँ वर्षको योजना बनाउने लगायतका काम गर्दछन् ।

तराईवासीले आजको दिन माघ १ गते लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् ।

माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा पनि आज मेलासमेत लाग्ने गर्छ ।

बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने प्रचलन रहिआएको छ ।