गाजा — प्यालेस्टाइनमा कार्यरत संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीले गाजामा इजरायल र हमासबीच जारी युद्धले मानवतामा दाग लागेको बताउनुभएको छ । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुख फिलिप लाजारिनीले गाजा पट्टीको भ्रमणका क्रममा जारी गरेको वक्तव्यमा भनिएको छ, “विगत १०० दिनको व्यापक मृत्यु, विनाश, विस्थापन, भोकमरी, क्षति र शोकले हाम्रो साझा मानवतामा दाग लागेको छ ।”

लाजारिनीले अक्टोबर ७ मा हमास र अन्य समूहले गरेको ‘भयानक आक्रमण’को निन्दा गरेका छन्, जसमा एक हजार १ सय ४० जनाको मृत्यु भएको थियो भने थप २ सय ५० जनालाई बन्धक बनाइएको र तीमध्ये १ सय ३२ जना गाजामै रहेको र २५ जनाको मृत्यु भएको अनुमान गरिएको इजरायली अधिकारीहरूले बताएका छन् ।

“बन्धक र उनीहरूका परिवारका लागि १०० दिनको समय निराशा र चिन्ताबीच बितेको छ,” लाजारिनीले भन्नुभयो । इजरायलले गत अक्टोबर ७ देखि गाजामा आक्रमण गर्दा कम्तीमा २३ हजार ८४३ जनाको मृत्यु भएको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लाजारिनीका अनुसार बालबालिकाको एउटा सिंगो पुस्ता ‘आघातमा परेको’ छ र निको हुन वर्षौं लाग्नेछ । उहाँले भन्नुभयो, “ बालबालिकालगायत अन्य मानिसहरू अमानवीय अवस्थामा बाँचिरहेका छन्, रोगहरू फैलिरहेका छन् ।” “तिनीहरू बाँच्न नसक्ने ठाउँमा बाँचिरहेका छन् र समय अनिकालतिर लम्किरहेको छ ।”