फाइल तस्वीर


ढोरपाटन — बागलुङमा पछिल्लो समय खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन् । दूरदराजका किसानले सिँचाइको सुविधा नपाउँदा वर्षौंदेखि गर्दै आएका जमिनमा अहिले वनमारा पलाउन थालेका छन् । बर्सेनि सरकारले सिँचाइका लागि करोडौँ बजेट विनियोजन गरे पनि किसानले सुविधा पाउन नसकेको गुनासो बढेको छ । यस वर्ष पनि बागलुङमा गण्डकी प्रदेश र सङ्घीय सरकारका रु २२ करोड २४ लाखको योजना परेका छन् ।

प्रदेशका एक सय चार र सङ्घीय सरकारका २० गरी एक २४ योजना चालु आर्थिक वर्षमा कार्यान्वयनका चरणमा छन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका अनुसार जिल्लामा खेतीयोग्य जमिनको १५ दशमलव १५ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइको सुविधा पुगेको छ ।

जिल्लामा एक लाख ७८ हजार चार सय हेक्टर जमिन रहे पनि हाल ४६ हजार एक सय ४८ हेक्टरमा खेती गरिँदै आएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ३० हजार पाँच सय २३ मध्ये हालसम्म छ हजार सात सय ९० हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुगेको छ भने बाह्रै महिना सिँचाइ हुने क्षेत्रफल भने दुई हजार आठ सय १५ हेक्टर रहेको छ । प्रमुख पौडेलले बागलुङमा भौगोलिक कठिनाइका कारण सबै ठाउँमा एकै पटक सिँचाइ सुविधा पु¥याउन ठूलो बजेट चाहिने बताउनुहुन्छ । अहिले न्यून बजेटमा पनि धेरै खेतीयोग्य जमिनमा सिँचाइ पु¥याउने गरी काम गरिरहेको उहाँको भनाइ छ ।

कार्यालयबाट सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी काम हुँदै आएको प्रमुख पौडेलले बताउनुभयो । सिँचाइ योजनाको माग निकै बढेको र कार्यालयले सबै क्षेत्रमा सिँचाइको पहुँच पु¥याउने लक्ष्य भए पनि पछिल्लो समय धान तथा गहुँ खेती हुने खेतबारीमा सिँचाइका योजना पर्ने गरेको उहाँले बताउनुभयो । सिँचाइको पहुँच पुगेपछि धान फल्ने क्षेत्रफल पनि बढेको छ । जिल्लाको १० वटै पालिकामा योजना परेको प्रमुख पौडेलले बताउनुभयो । प्रदेश सरकारले कृषि उत्पादकत्व, लाभान्वित जनसङ्ख्या र जमिन हेरेर योजना बनाउँदै आएको उहाँ बताउनुहुन्छ

प्रमुख पौडेल भन्नुहुन्छ, “प्रदेश सरकारले पठाएको योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गरी काम गरेका छौँ, बागलुङ भौगोलिक कारणदेखि विभिन्न हिसाबले सिँचाइको व्यवस्थापन गर्न सजिलो छैन, यद्यपि सिँचाइ अभाव भएका ठाउँलाई मुख्य प्राथमिकतामा राखेर काम भइरहेको छ, चालु आर्थिक वर्षमा विनियोजित बजेट पनि कार्यान्वयन गर्ने चरणमा छौँ, अहिले पनि धेरै ठाउँका किसाना आकाशे पानीको भरमा खेती गर्दै आएका छन् ।”

बागलुङ अहिलेसम्म खाद्यान्नमा आत्मनिर्भर बन्न सकेको छैन । यहाँका रहेक किसान आयातित खाद्यान्नमै निर्भर बन्नुपरेको छ । जिल्लामा खेतीयोग्य जमिन नभएर होइन । बागलुङ भौगोलिक हिसाबले केही क्षेत्र समथर भए पनि अधिकांश भू–भाग भिरालो छ । यी क्षेत्रमा अहिलेसम्म सिँचाइको सुविधा पुग्न नसक्दा कृषक परनिर्भर पर्नुपरेको निसीखोला बडिगाड गाउँपालिका–८ का तिलबहादुर घर्ती मगरले बताउनुभयो ।

ग्रामीण क्षेत्र भिराले भए पनि गहुँ खेती राम्रो हुने गरेको भन्दै हिउँदमा लामो समय खडेरी परे उत्पादनमा ह्रास आउने उहाँको भनाइ छ । सिँचाइको सुविधा भए वर्षभरि खान पुग्ने बाली बारीमै उत्पादन गर्न सकिने भए पनि सामान्य कुलोसमेत नहुँदा आयातित खाद्यान्नमा भर पर्नुपरेको गुनासो पोख्नुभयो ।

“हामी सधैँ बाहिरबाट चामल, मिठो लिएर जीविका चलाउनुपरेको छ, बारी प्रसस्तै छन्, के गर्नु पानी छैन, पानी नभए पनि उत्पादन पनि थोरै हुन्छ, पचासौँ रोपनीमा लगाएको मकै, गहुँले वर्षभरि खान पुग्दैन, बारीमा उब्जेकोले नपुगेपछि किन्ने उही विदेशी चामलनै हो”, उहाँले भन्नुभयो, “गाउँका बारी भारोलो छन्, भिरालोमा धान त फल्दैन तर राम्रो कुलो हुन्थ्यो बने मुहानबाट पानी लिएर लगाउन त सकिन्थ्यो, अहिलेसम्म यो ठाउँमा सिँचाइका लागि कुलोको योजना पर्न सकेको छैन ।”

निसीखोला गाउँपालिका–५ का बलिभद्र घर्तीले बालीनालीमा सिँचाइको अभाव हुँदा उत्पादनमा कमी आएको बताउनुभयो । कारीखोलाबाट करिब एक किलोमिटरको दूरीमा कच्ची कुलोमार्फत पानी लिएर खेतबारीमा लगाउने गरे पनि बर्खामा भत्किँदा लाखौँको क्षति हुने गरेको गुनासो पोख्नुभयो । सरकारले बजेट विनियोजन गरेर पक्की कुलो निर्माण गरि दिए गाउँले आत्मनिर्भर भन्न सक्ने उहाँको भनाइ छ । सयौँ रोपनी खेत भएको ठाउँमा एउटा मात्रै साँघुरो कुलो रहेको भन्दै पानीका लागि छिमेकीसँग बेला–बेला झगडासमेत पर्ने गरेको घर्तीले सुनाउनुभयो ।

घर्तीले भन्नुभयो, “समयमै वर्षा हुँदाको वर्ष २० मुरी धान र १५ मुरी गहुँ उत्पादन गर्नु हुन्छ, हिउँदमा लामो समय खडेरी प¥यो भने उत्पादन निकै कम हुन्छ, हिउँदमा आकाशे पानीको भर पर्नुपर्छ, बर्खामा बेसीको सबै सकियो भने बल्ल गाउँका खेतमा रोपाइँ गर्नुपर्ने अवस्था छ, यो सिजनमा पानी परेन भने गहुँ जौँ सबै सुकेर मर्छन् ।”

बागलुङमा सबैभन्दा बढी मकै बाली उत्पादन हुने गरेको छ । जिल्लाभर मकै २० हजार हेक्टर क्षेत्रफल बढीमा उत्पादन हुन्छ । कोदो १८ हजार हेक्टर र गहुँ सात बढी हजार हेक्टर बढी क्षेत्रफलमा उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार गत वर्ष छ हजार बढी हेक्टर क्षेत्रफलमा रोपाइँ भए पनि १८ हजार छ सय ९० मेट्रिक टन मात्रै धान उत्पादन भएको थियो । यस वर्ष पाँच हजार सात सय १७ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिएकामा २० हजार पाँच सय ५१ मेट्रिक टन उत्पादन भएको छ ।