फाइल तस्वीर


काठमाडौँ — सत्ता गठबन्धनले आगामी माघ ११ गते हुने राष्ट्रियसभाका निर्वाचनका उम्मेदवारलाई जिताउन प्रदेश तहमा पनि निर्वाचन समन्वय समिति बनाउन सुरु गरेको छ । राष्ट्रियसभामा गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि सबै प्रदेश र जिल्लामा समन्वय समिति बनाउने केन्द्रीय निर्णय अनुसार बागमती प्रदेशमा पनि समन्वय समिति गठन गरिएको हो ।

गठबन्धनले बागमती प्रदेशका लागि तीन सदस्यीय समन्वय समिति गठन गरेको छ । काङ्ग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँको संयोजकत्वमा एकीकृत रुपमा चुनावी समन्वय गर्न समिति गठन गरिएको छ । समितिको सदस्यमा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल पौडेल ‘सहयात्री’ र एकीकृत समाजवादीको प्रदेश अध्यक्ष सावित्रा भुसाल रहनुभएको छ ।

यसैगरी प्रदेशसभा भित्रका सदस्यहरुलाई समन्वय गर्ने गरी अर्को पनि समन्वय समिति गठन गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शािलकराम जम्कट्टेलको संयोजकत्वमा गठित समितिमा काङ्ग्रेसका संसदीय दलका नेता बहादुर सिंह लामा र एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्ण खनाल सदस्य रहनुभएको छ ।

प्रदेश भित्र रहेका महानगर, उपमहानगर र नगरपालिकाका पालिकाका प्रमुख तथा उप प्रमुखसँग समन्वय गर्न नगरपालिका महासङ्घका बागमती प्रदेश अध्यक्ष उपेन्द्र कार्कीलाई जिम्मेवारी दिइएको छ । यसैगरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि समन्वय गर्न गाउँपालिका महासङ्घ बागमती प्रदेश अध्यक्ष कर्णबहादुर थापा मगरलाई दिइएको छ ।