फाइल तस्वीर


बेइजिङ — वासिङ्टनले यसै साता हुने निर्वाचनपछि ताइवानमा एक प्रतिनिधिमण्डल पठाउने बताएपछि चीनले स्वशासित ताइवानको चुनावमा हस्तक्षेप नगर्न अमेरिकालाई आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले चीन–अमेरिका सम्बन्धमा गम्भीर क्षति नपुगोस् भनेर वासिङ्टनले ताइवान क्षेत्रको चुनावमा कुनै पनि प्रकारको हस्तक्षेप नगर्न आग्रह गर्नुभएको हो ।

वासिङ्टनले स्वशासित टापूमा महत्वपूर्ण निर्वाचनपछि ताइवानमा ‘अनौपचारिक’ प्रतिनिधिमण्डल पठाउने घोषणा गरेपछि उहाँले भन्नुभयो, “चीनले अमेरिका र ताइवानबीच कुनै पनि प्रकारको आधिकारिक आदानप्रदानको कडा विरोध गर्दछ ।”

“ताइवान चीनको अविभाज्य अङ्ग हो,” उहाँले भन्नुभयो । माओले बेइजिङसँग चुनावलाई लिएर तनाव नबढाउन अमेरिकाले दिएको चेतावनीको पनि विरोध गर्नुभएको छ । उहाँले भन्नुभयो, “ताइवान क्षेत्रको निर्वाचनलाई लिएर अमेरिकी पक्षले गरेको अनावश्यक तामझामप्रति चीन कडा असन्तुष्टि र विरोध जनाउँछ । हामी अमेरिकी पक्षसँग दुई देशका नेताले गरेका प्रतिबद्धता पूरा गर्न व्यवहारिक कदम चाल्न आग्रह गर्दछौँ ।”