फाइल तस्वीर


ढाका — बङ्गलादेशमा शेख हसिना आगामी कार्यकालका लागि नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त हुनुभएको छ । अवामी लीग पार्टीकी नेतृ हसिनालाई बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले देशको नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

सत्तारुढ अवामी लीगकी नेतृ शेख हसिना लगातार पाँचौं पटक बङ्गलादेशको प्रधानमन्त्री बन्नुभएको छ । आवामी लीगले संसद्का बहुमत सदस्यको विश्वास प्राप्त गरेकाले राष्ट्रपति शहाबुद्दीनले अवामी लीग पार्टीकी नेतृ हसिनालाई नयाँ सरकार गठनका लागि निमन्त्रणासमेत दिएको क्याबिनेट डिभिजनले राजपत्रमा सूचना जारी गरी जानकारी गराएको छ ।

आइतबार सम्पन्न आम निर्वाचनमा प्रधानमन्त्री हसिनाको पार्टीले विजय हासिल गरेपछि उहाँले पार्टीका अन्य सांसद्सहित बुधबार सांसद् पदको सपथ लिनुभएको थियो । निर्वाचन आयोगले मङ्गलबार अपराह्न प्रकाशित गरेको राजपत्रमा प्रकाशित सूचनाअनुसार हसिना नेतृत्वको आवामी लीगले संसद्को २९८ सिटमध्ये २२२ सिट जितेको छ ।