काठमाडौँ — यस वर्षको यसबर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी चैत पहिलो साताबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसबर्षको माध्यमिक शिक्षा परीक्षा तोकिएकै तालिका अनुसार हुने भएको हो ।

शिक्षा पत्रकार सञ्जाल (इजोन) ले काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले यस वर्ष एसईई हुँदैन कि भन्ने भ्रममा नपर्ने सबैलाई आग्रह गर्नुभएको छ ।

संसद्मा विचाराधिन अवस्थामा रहेको शिक्षा विधेयकमा कक्षा १० को परीक्षा उल्लेख नरहेकाले यो वर्ष एसईई हुने वा नहुने भन्ने अन्योलका बीच अध्यक्ष शर्माले यस्तो जानकारी दिनुभएको हो । ‘शिक्षा विधेयक संसदमा छलफलको क्रममै रहेकोले बोर्डको निर्धारित तालिकाअनुसारै एसईई हुने भएको छ । अध्यक्ष शर्माले भन्नुभयो, ‘शिक्षा विधेयक संसदको पूँजी हो। यो विधेयक पास भएर कानुन नबनेसम्म एसईई परीक्षा रोकिँदैन । नियमित ढङ्गले हुन्छ ।’

जाजरकोट र रुकुम जिल्लामा आएको भूकम्पका कारण त्यहाँका बालबालिकाले पढ्न नपाएको भन्दै परीक्षा सर्छ की भन्ने हल्ला निराधार रहेको भनेको छ । भूकम्पका कारण ती दुई जिल्लामा कक्षा १० को परीक्षा दिने विद्यार्थीमध्ये करिब २ हजार ७ सय विद्यार्थी बढी प्रभावित भएपनि त्यहाँ पठनपाठन भैरहेको र विद्यार्थी तथा शिक्षकहरुले परीक्षामा सहभागी हुने बताएको पनि बोर्डले जनाएको छ ।

शिक्षा पत्रकार सञ्जाल इजोनद्वारा बुधवार राजधानीमा आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले भूकम्पका कारण क्षतिग्रस्त बनेका विद्यालयमध्ये १–२ वटाको मात्र परीक्षा केन्द्र सार्नुपर्ने अवस्था देखिएको पनि बताउनुभयो । त्यस बखत कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस पटकको परीक्षामा रजिष्ट्रेशनका आधारमा ४ लाख ९० हजार परीक्षार्थी परीक्षामा सहभागी हुने बताउनुभयो ।

यस वर्षको लागि एसईई परीक्षामा सहभागी हुन ४ लाख ८९ हजार ४४४ जना विद्यार्थीले रजिस्ट्रेसन फारम भरेका बोर्डले जनाएको छ । कार्यक्रममा परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यो वर्ष पहिलो पटक नयाँ पाठ्यक्रमअनुसार परीक्षा हुने र विद्यार्थीले प्रत्येक विषयमा ३५ प्रतिशत अङ्क हासिल गर्नु पर्ने प्रावधान राखिएको जानकारी दिनुभयो ।