काठमाडौँ — चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रले गति लिने अनुमान गरिएको छ । विश्व बैङ्कले बुधबार सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ प्रतिवेदनले गत आर्थिक वर्षको तुलनामा नेपालको अर्थतन्त्रमा उल्लेख्य सुधार हुने अनुमान गरेको हो । खास गरी खुकुलो मौद्रिक नीति र आयात प्रतिबन्ध खुला गरिएपछि अर्थतन्त्रमा सुधार देखिने अनुमान प्रतिवेदनमा गरिएको छ । जस अनुसार चालु आवमा नेपालले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने छ जुन गत आवको १.९ प्रतिशतले सुधार हो ।
नेपालले चालु आवमा हासिल गर्ने अनुमान गरिएको आर्थिक वृद्धिदर विश्वको औसत दरभन्दा धेरै हो भने दक्षिण एसियाली औसतको तुलनामा भने कम हो । विश्व अर्थतन्त्र विगत ३० वर्षकै सबैभन्दा धिमा गतिमा रहेकाले सन् २०२४ मा केवल २.३ प्रतिशतको औसत वृद्धिदर रहने अनुमान विश्व बैङ्कले गरेको छ । त्यस्तै विश्वव्यापी अर्थतन्त्रमा देखिएको मन्दीका बाबजुद अर्थतन्त्र सुधार गरेको भारतका कारण दक्षिण एसियाली अर्थतन्त्रको औसत वृद्धिदर भने ५.६ प्रतिशत रहने अनुमान गरिएको छ । जुन् सन् २०२३ को लागि अनुमान गरिएको ५.७ प्रतिशतभन्दा सामान्य मात्र कम हो ।
दक्षिण एसियाली क्षेत्रका लागि सन् २०२४ मा आन्तरिक माग नै अर्थतन्त्र सुधारको मुख्य निर्धारक हुने अनुमान गरिएको छ । यस वर्ष यस क्षेत्रमा बाह्य माग पनि बढ्ने अनुमान गरिएको छ । सार्वजनिक लगानी तथा सुधारिएको कर्पोरेट वासलातका कारणका भारतीय अर्थतन्त्रले ६.४ प्रतिशतको वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । आयातमा गरिएको प्रतिबन्धले निजी लगानी प्रभावित हुने र मुद्रास्फीतिका कारण व्यक्तिगत उपभोग घट्दा बङ्गलादेशको अर्थतन्त्रको वृद्धिदर केही घटेर ५.६ प्रतिशत रहने अनुमान गरिएको छ । अघिल्लो आवमा बङ्गलादेशले ६ प्रतिशतको वृद्धिदर हासिल गरेको थियो ।
मौद्रिक नीतिमा गरिएको कडाइ र वित्त नीतिसँग पनि सामञ्जस्य नदेखिँदा पाकिस्तानको अर्थतन्त्र भने १.७ प्रतिशतमा सीमित रहने अनुमान छ । यो दर गत वर्षको ०.२ प्रतिशतको नकारात्मक वृद्धिदरको तुलनामा भने उल्लेख्य सुधार हो । श्रीलङ्काको अर्थतन्त्र अझै पनि अनिश्चित नै रहेको छ । बाह्य ऋणले थलिएको श्रीलङ्काली अर्थतन्त्रमा गर्न थालिएको ऋणको पुनर्संरचनालगायतका कामले श्रीलङ्काको अर्थतन्त्र निर्धारण गर्ने देखिएको छ । यस्तो परिस्थितिबिच पनि श्रीलङ्काले १.७ प्रतिशतको वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । सन् २०२४ मा श्रीलङ्काको वृद्धिदर ३.८ प्रतिशतले नकारात्मक रहने अनुमान छ ।
पर्यटनमा आधारित लगानीका कारण माल्दिभ्सको अर्थतन्त्रले ५.२ प्रतिशतको वृद्धिदर हासिल गर्ने र नयाँ जलविद्युत् परियोजनाका कारण भुटानको अर्थतन्त्रमा अर्को आर्थिक वर्षमा भने उल्लेख्य सुधार हुने प्रक्षेपण छ । चालु आवमा भने भुटानको अर्थतन्त्रमा प्रतिशतको वृद्धिदर हुने अनुमान गरिएको छ ।
अर्थतन्त्र सुधारको अनुमान गरिएको दक्षिण एसियाली अर्थतन्त्र चुनौतीविहीन भने नरहेको प्रतिवेदनले उल्लेख गरेको छ । खास गरी मध्यपूर्वमा देखिएको विवाद तथा द्वन्द्वका कारण ऊर्जा र खाद्यको मूल्य बढ्ने तथा विकसित अर्थतन्त्रको नीतिगत दर बढ्न सक्ने अवस्थाका कारण त्यसको जोखिम दक्षिण एसिया क्षेत्रले पनि बेहोर्नुपर्ने अवस्था आउन सक्ने अनुमान गरिएको छ ।
बढ्दो बाह्य सहायता, मौसमजन्य कारण तथा व्यापार साझेदारसँग घट्दो व्यापार पनि यस क्षेत्रको अर्थतन्त्र प्रभावित पार्ने अर्को कारणका रूपमा उल्लेख गरिएको छ । त्यस्तै केही मुलुकमा हुने निर्वाचनका कारण बढ्न सक्ने अनिश्चितताले पनि अर्थतन्त्रमा त्यसको असर देखिन सक्ने अनुमान छ । (आजको गोरखापत्र दैनिकबाट)