फाइल तस्वीर
जुम्ला— जुम्लाको तिला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई चिसोबाट जोगाउन न्यायो कपडा वितरण सुरु गरेको छ । ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम अन्तर्गत मङ्गलबार गाउँपालिकाले वडा नं १, २ र ३ का ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको हो ।

तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले यस आर्थिक वर्षमा ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम अन्तर्गत रु १० लाख बजेट विनियोजित गरिएको बताउनुभयो । ज्येष्ठ नागरिकलाई उच्च गुणस्तरको ज्याकेट प्रदान गरिएको छ ।

पहिलो चरणमा पालिकाको वडा नं १ मा ४९ जना, वडा नं २ मा ७८ र वडा नं ३ मा ८२ गरी जम्मा दुई सय नौ ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो ।

कार्यक्रमबाट क्रमशः यहाँका अन्य वडाका ज्येष्ठ नागरिकको घरमै पुगेर न्यायो कपडा वितरण गरिने गाउँपालिकाले जनाएको छ । ज्येष्ठ नागरिकलाई स्वास्थ्योपचारलगायत अन्य राहतमुखी कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले बताउनुभयो ।

ज्येष्ठ नागरिकलाई विशेष प्रथामिकतामा राखेर पालिकाले काम गरेको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाको भनाइ छ ।