काठमाडौँ — नेपाली पहिचान र संस्कृतिलाई विश्वमा स्थापित गराउन नेपाली कलालाई विश्वव्यापी र व्यावसायिक बनाउनुपर्नेमा आज काठमाडौँमा भएको एक कार्यक्रमका वक्ताले औँल्याएका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल हस्तकला महासङ्घको संयुक्त आयोजनामा आज यहाँ भएको ‘समकालीन कलाको विश्वव्यापीकरण’ विषयक अन्तक्र्रियामा सहभागीले कलाको विश्वव्यापीकरण गराउन सके संस्कृति तथा पहिचान पनि विश्वव्यापी हुने र आर्थिक विकासमा समेत टेवा पुग्ने बताउनुभएको थियो ।

कार्यक्रमको प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले नेपाली कलाको विविध आयामको चर्चा गर्दै भन्नुभयो, “पश्चिमले हाम्रो धेरै कुरा लिएको छ, उनीहरूको पनि हामीले लिएका छौँ, पछिल्लो समय सूचना प्रविधिले गर्दा एकअर्काको कला बुझ्ने/बुझाउने, लिने/दिने कुरालाई अझ बढाएको छ ।”

नेपाल हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले नेपालका पस्मिना, पौभा, थाङ्कालगायतका रैथाने कलाले विश्वका ६५ बढी देशमा बजार पाएको चर्चा गर्दै नेपाली कलालाई अझै विश्वव्यापी र व्यवसायीकरण गर्न जरुरी रहेको औँल्याउनुभयो ।

महासङ्घका उपाध्यक्ष डिल्लीरत्न तुलाधारले नेपालको कला अन्तर्राष्ट्रियकरण भइसकेकोे जनाउँदै यसको विकासमा सबैले साथ दिनुपर्ने बताउनुभयो । कार्यक्रममा विदेशी कलाकारको समेत सहभागिता थियो । आयरल्याण्डका लोरा मर्फीले कलाको चर्चा गर्दै कला आदानप्रदानले संस्कृति संरक्षणमा योगदान पु¥याउने बताउनुभयो । 

अमेरिकी कलाकार जोन फुलर्टनले प्रतिष्ठानमा यस किसिमको कार्यक्रममा उपस्थिति हुन पाउँदा आफूलाई खुसी लागेको भन्दै आभार व्यक्त गर्नुभयो । स्लोभाकियाका कलाकार जुजाना हानाकोभाले वाटरकलरमा कला सिर्जना गर्दाको आफ्नो अनुभव सुनाउनुभएको थियो ।

अमेरिकाकै कलाकार मारी टेलरले आधुनिक कलालाई अघि बढाउँदै रमाइरहेको बताउनुभयो । नेपाली कलाकार मनिषलाल श्रेष्ठले नेपाली कलालाई विश्वव्यापी गराउनुपर्नेमा जोड दिनुभयो ।  

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले, प्राज्ञपरिषद् सदस्य पाल्साङ्मो लामा, सौरगङ्गा दर्शनधारी, अरुणा हिङमाङ, प्राज्ञसभा सदस्य सङ्गी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।