फाइल तस्वीरः कोशी प्रदेशका नव निर्वाचित सभामुख अम्बरबहादुर विष्ट ।


विराटनगर — कोशी प्रदेशको लामो समयदेखि रिक्त रहेको सभामुखमा सांसद अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित हुनुभएको छ । आज मङ्गलबार बसेको कोशीको प्रदेशसभाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का सांसद विष्ट निर्विरोध निर्वाचित हुनुभएको हो ।

कोशी प्रदेशसभाका कार्यवाहक सभामुख (उपसभामुख) र्सिजना दनुवारले सभामुखमा विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो राप्रपा संसदीय दलका नेता भक्ति सिटौला समर्थक र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक रहेका सभामुखमा उम्मेदवारी दिनुभएका विष्टको विरुद्ध कुनैपनि दलले अर्को उम्मेदवारी नदिएपछि उहाँ सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

सत्तारुढ गठबन्धनले सभामुख राप्रपालाई समर्थन दिएपछि नेकपा एमालेले पनि विष्टलाई नै समर्थन गर्दै उम्मेदवारी नदिने निर्णय गरेको थियो । गत साउन १६ गते सभामुखबाट बाबुराम गौतमले राजीनामा दिएपछि उक्त पद रिक्त बनेको थियो ।

आज मङ्गलबार बिहान बसेको कार्यव्यवस्था समितिको बैठकले आजै सकिने गरी सभामुखको निर्वाचन कार्यक्रम तालिका प्रकाशित गर्ने निर्णय गरेको थियो । सबै प्रक्रिया आजै पूरा गरेर सभामुख निर्वाचित गर्ने तालिका बनेपछि सभामुखका लागि राप्रपाका सांसद विष्टको मात्रै उम्मेदवारी दर्ताभएको थियो ।