तस्वीरमा नेपाली काङग्रेसका उम्मेदवार जितजङ्ग बस्नेत र विष्णुकुमारी पुडासैनी ।


मकवानपुर — आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशबाट सत्ता गठबन्धनका चारै जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेश राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सत्ता गठबन्धनका उम्मेदवारहरुले एकै साथ उम्मेदवारी दर्ता गराउनुभएको हो ।

बागमती प्रदेशमा रिक्त हुने चार सिटमध्ये नेपाली काङग्रेसबाट दुई जना, नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादीबाट एक/एक जनाले मनोनयन दर्ता गराउनुभएको छ ।

काङ्ग्रेसबाट महिला क्लस्टरमा विष्णुकुमारी पुडासैनी र अन्य क्लस्टरबाट जितजङ्ग बस्नेतले उम्मेदवारी दर्ता गराउनुभएको छ भने माओवादी केन्द्रबाट अपाङ्ग क्लस्टरबाट श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट दलित क्लस्टरमा घनश्याम रिजाल विश्वकर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

नेपाल मजदुर किसान पार्टीले पनि बागमती प्रदेश निर्वाचन कार्यालयमा पुगेर चार जनाको उम्मेदवारी दिएको छ । बागमती प्रदेशमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेमकिपाले रिक्त चार वटै क्षेत्रमा उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गराएको हो ।