तस्वीरमा जापानमा विनासकारी भूकम्पको भग्नावशेष ।
टोकियो — गतहप्ता मध्य जापानमा गएको विनाशकारी भूकम्पका कारण एक सय २६ जनाले ज्यान गुमाएका छन् भने अझै दुई सय २२ जना मानिसहरु हराइरहेका छन् । भूकम्पका कारण भग्नावशेषमा फसेकी एक ९० वर्षभन्दा बढी उमेरकी महिलालाई सकुशल उद्धार गरिएको छ । प्राप्त समाचारमा जनाइएअनुसार सुजु शहरमा भत्किएको घरको भग्नावशेषमुनिबाट ती महिलालाई पाँचदिन पछि सकुशल उद्धार हो ।

ती बृद्धालाई उपचारका लागि अस्पताल लगिएको छ र अस्पतालमा लानु अघि उनले प्रश्नको स्पष्ट जवाफ दिइरहेको सरकारी प्रसारक एनएचकेले जनाएको छ । स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको घटनास्थलको प्रहरी फुटेजमा उद्धारकर्ताहरूले ती महिलालाई उद्धार प्रयास जारी रहेको भन्दै नआत्तिइकन ‘त्यहीँ पर्खनुहोस्’ भनेको सुन्न सकिन्छ । टोकियो प्रहरीका एक प्रवक्ताले एएफपीलाई टोकियो र फुकुओकाका अधिकारीहरूले एक वृद्धाको उद्धार गरेको पुष्टि गरे पनि थप विवरण दिन चाहेनन् ।

सरकारले उद्धार प्रयास जारी राखिएको जनाएता पनि त्यहाँ हिम वर्षा र आँधीबेहरीका कारण आईतबार राहत वितरण तथा उद्धार कार्य जटिल हुनसक्ने समाचारमा जनाइएको छ । जापानमा नयाँ वर्षकै पहिलो दिन अर्थात् जनवरी १ तारिखका दिन ७ दशमलब ५ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यसपछिका पराकम्पनमा परी कम्तीमा एक सय २६ जनाको मृत्यु भएको र अन्य कयौं मानिसहरु हराइरहेको स्थानीय अधिकारीले बताएका छन् ।

भूकम्पको झट्का र त्यसपछिका पराकम्पनले भवनहरू भत्किएका थिए । ठूलो आगलागी भएको थियो र एक मिटरभन्दा अग्ला सुनामी छालहरू उत्पन्न भएका थिए । विनाशकारी भूकम्प गएको तीन दिनपछि जीवित व्यक्तिहरू भेट्टाउने आशा प्रायः धुमिल हुन्छ ।

सोमबार भूकम्प आएको नोटो प्रायद्वीपका धेरै समुदायहरू भूकम्पका कारण क्षतिग्रस्त सडकहरूले गर्दा राजमार्ग तथा सडक सञ्जालबाट टाढा हुनुपरेको छ । अनुमानित एक हजार पहिरोहरूमध्ये केहीले सडकमार्गलाई पुरेको वा भत्काएका कारणत्यहाँ सहायताका लागि पठाइएका यातायातका साधनहरू पनि बाटोमा नै अलपत्र बनेका छन् । जापानको मुख्य होन्शु टापूको समुद्री तटमा रहेका प्रायद्वीपमा आइतबार दिउँसोसम्ममा चिसो वर्षाको सम्भावना रहेको बताइएको छ ।

हेलीकोप्टरमार्फत् सहायता पुर्‍याइँदै

हजारौं प्रहरी, सेना र अन्य उद्धारकर्मीहरूको उद्धार अभियानलाई खराब मौसमले चुनौतीपूर्ण बनाएको छ । राहत सामग्रीहरू पानी र बिजुली कटौती भएका क्षेत्रहरूमा पुग्न ढिलो भएका कारण शनिबारसम्म तीसय ६६ वटा सरकारी आश्रयस्थलमा रहेका ३० हजारभन्दा बढी मानिसहरूको अवस्थालाई अझ खराब बनाउन सक्ने अधिकारीहले बताएका छन् ।

प्रधानमन्त्री फुमियो किशिदाले आइतबार एनएचकेलाई दिएको एक अन्तर्वार्तामा भन्नुभयो, “पहिलो प्राथमिकता भग्नावशेषमा रहेका मानिसहरूको उद्धार गर्नु र एकान्तमा रहेका समुदायहरूमा पुग्नु हो । सेनाले प्रत्येक पृथक समुदायमा सैनिकका स–साना समूहलाई पैदल नै प्रभावित क्षेत्रमा पठाएको उहाँले बताउनुभयो ।

प्रभावित क्षेत्रका नागरिकलाई हवाई मार्गबाट सहयोग गर्न सरकारले ‘विभिन्न प्रहरी र अग्नि नियन्त्रक विभागका हेलिकप्टरहरू पनि तैनाथ गरेको किशिदाले बताउनुभयो । “विपत्तिमा पीडितहरूको स्वास्थ्यको ख्याल गर्दै हामीले आश्रयस्थलहरूको अवस्था सुधार गर्न आवश्यक छ,” उहाँले भन्नुभयो ।

जापानमा हरेक वर्ष सयौं भूकम्प जाने भएपनि पछिल्ला दशकहरूमा भूकम्प प्रतिरोधी संरचनाका कारण अधिकांश भूकम्पमा कुनै क्षति हुने गरेको छैन ।