बैतडी — प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत इलाइट च्याम्पियनसिपमा अछामले सान्त्वना जित निकालेको छ । सान्त्वना जित निकाल्ने क्रममा अछामले आज खेलेको अन्तिम खेलमा बझाङलाई ५१ रनले हरायो ।

जितका लागि पाएको एक सय ४० रनको लक्ष्य पछ्याएको बझाङ २५ दशमलव दुई ओभरमा ८८ रनमा समेटियो । बझाङका सनम बुढाथोकीले २१, सुशील रावल र अशोक धामीले समान १५–१५ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । अछामका रोहित खड्काले चार र युवराज खत्रीले तीन विकेट लिए ।

यसअघि फाप्ला मैदानमा आज बिहान ९ बजेदेखि सुरू हुने भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरु हुँदा ३५ ओभरमा झारिएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको अछाम २८ दशमलव चार ओभरमा एक सय ३९ रनमा अलआउट भयो । कप्तान राजु रिजालले सर्वाधिक ४९ रनको योगदान गरे । बझाङका भरत चन्द, सुशील रावल र प्रकाश रोकायाले दुई–दुई विकेट लिए ।

अछामका रोहित खड्का म्यान अफ द म्याच चुनिएका स्कोरर नरेन्द्रराज भट्टले जानकारी दिनुभयो । यो जितसँगै अछाम एलाइट च्याम्पियनसिपमै सुरक्षित रहेको छ । प्रतियोगिताका सबै खेल हारेको बझाङले भने पुनः प्लेट च्याम्पियनसिप तथा क्वालिफायर खेल्नु पर्नेछ ।

प्रतियोगिताअन्तर्गत शनिवार बैतडी र कञ्चनपुरले प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा यही पुस १४ गतेदेखि सुरू भएको प्रतियोगिता पुस २४ गते सम्पन्न हुनेछ ।