दमौली — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिक्षाको गुणस्तर सुधार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित पुर्कोट माध्यमिक विद्यालयको आज आयोजित शतवार्षिकोत्सव कार्यक्रममा उहाँले व्यावसायिक शिक्षा प्रदान गर्ने सवालमा सरकार दृढ रहेको बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “शिक्षा क्षेत्रको गुणस्तर कसरी सुधार्न सकिन्छ भन्ने सवालमा प्रदेश सरकार कार्ययोजनासहित अगाडि बढेको छ । नीति तथा कार्यक्रममा पनि बिग स्कुल, लिड स्कुल र रेसिडेन्टल स्कुलको अवधारणा ल्याएको छ ।” उहाँले गण्डकी प्रदेशमा सिफारिस भई आएका शिक्षकलाई सेवाकालीन तालिम सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पाण्डेले शिक्षाको अधिकार कुन तहको सरकारको हो भन्ने प्रष्ट नहुँदा समस्या भइरहेको उल्लेख सङ्घीय सरकारले शिक्षा ऐन नबनाउँदा शिक्षा क्षेत्रमा धेरै काम गर्न नसकिएको जिकिर गर्नुभयो । उहाँले एक सय वर्ष अगाडि यस क्षेत्रमा विद्यालय स्थापना गरेर नागरिकलाई शिक्षा प्रदान गर्ने सवालमा अग्रजहरूले खेलेको भूमिकाप्रति सराहना गर्नुभयो । गाउँमा विद्यार्थी सङ्ख्या घट्दै जाने कारणले समस्या भएको बताउँदै उहाँले गाउँमै रोजगारी र आम्दानी वृद्धि गर्न सकिए नागरिक गाउँमै बस्ने अवस्था आउने उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “गाउँका विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दो छ । गाउँबाट सहर पस्ने क्रम बढेकाले गाउँमै टिकाइराख्न चुनौती छ । गाउँमा नै मानिसलाई टिकाउने गरी रोजगारीको सिर्जना गर्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।”