गलेश्वर — म्याग्दीका लेकाली क्षेत्रका किसानले घुम्ती गोठलाई आयआर्जनको साधन बनाउन नसक्दा परम्परागतरूपमा मात्र सञ्चालन हुँदै आएका छन् । यहाँका किसानले घुम्ती गोठका पशुचौपायालाई अझैसम्म पनि आयआर्जनको माध्यम बनाउन सकेका छैनन् । युवापुस्ता वैदेशिक रोजगारीमा आकर्षित हुनु र पाको पुस्ताले घुम्ती गोठलाई आधुनिकीकरण गरी व्यावसायिक प्रयोजनका रूपमा विकास गर्न नसक्नुले घुम्ती गोठ केवल परम्परा धान्ने र दिन कटाउने माध्यममात्रै बन्दै गएका छन् ।
म्याग्दीका धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकाका गाउँमा घुम्ती गोठ राख्ने प्रचलन छ । यहाँका किसानले खेतबारीलाई मलिलो बनाउन र बाँझो पाखाको घाँस खुवाउनमात्र घुम्ती गोठ राख्ने गरेको धवलागिरि–३ का लोकबहादुर विकले बताउनुभयो ।
गाउँपालिकाले खेतीपातीसँगै घुम्ती गोठलाई आर्यआर्जनको माध्यम बनाउन विभिन्न कार्यक्रम ल्याएको भए पनि किसानकै उदासिनताका कारण कार्यक्रम लाभदायी हुन नसकेको उहाँले बताउनुभयो । पछिल्लो समय भेडागोठ आयस्रोतको माध्यम बनेको छ भने अन्य गाईभैँसीपालन गर्ने किसानले आयस्रोतका रूपमा विकास गर्न नसकेको उहाँको भनाइ छ ।
बाँझो जमिनलाई स्थानीयले गाईभैैँसी, गोरु र बाख्रा पाल्ने अस्थायी गोठका रूपमा प्रयोग गरेका छन् । बाजेहरूले गर्दै आएको परम्परागत घुम्ती गोठले खेती टाढा भएको जग्गामा अस्थायी टहरा बनाएर खेतीका लागि जग्गा मलिलो बनाउन घाँस खुवाउने प्रचलनमा सीमित रहेको धवलागिरि–१ गुर्जाका वडाध्यक्ष झक छन्त्यालले बताउनुभयो ।
टाढा खेती भएको जग्गामा मल बनाउन र वरिपरि बाँझो रहेको जग्गाको घाँस खुवाउन घुम्ती गोठ कायम रहेको वडाध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । घुम्ती गोठ धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, मराङ र मल्कवाङमा रहेका छन् ।
त्यस्तै रघुगङ्गाको चिमखोला कुइनमङ्गले र अन्नपूर्णको शिख, पाउद्वार र दोबामा भेडा तथा गाईभैँसीको घुम्ती गोठ कायम छन् । पछिल्लो समय गाउँगाउँमा सडक र वैदेशिक रोजगारीले खेती तथा पुशपालनका घुम्ती गोठ कम हुँदै गएका छन् ।
जनतालाई विकास र आयआर्जनसँग जोड्ने काम जनप्रतिनिधिको भए पनि युवापुस्तालाई कृषि तथा पशुपालनतर्फ रुचि नभएका कारण परम्परागत पेसालाई व्यावसायिक बनाउन नसकिएको जनप्रतिनिधिले बताएका छन् । “युवाहरू वैदेशिक रोजगारका लागि मरिहत्ते गर्छन्, पुरानो पुस्ताले आफ्नै रैथाने तरिका परिवर्तन गर्न चाहँदैनन्”, धवलागिरि–३ मुनाका पुर्म पुनले भन्नुभयो ।
वडाध्यक्ष पुनका अनुसार उन्नत तरिकाको खेती, व्यावसायिक पशुपालन र आयआर्जनमूलक कार्यक्रममार्फत गाउँको विकास गर्न सकिने प्रशस्तै सम्भावना यहाँ रहेका छन् । यहाँका बासिन्दा खाली जग्गालाई घुम्ती गोठका रूपमा बाहेक अरु कुरामा प्रयोग गर्न मान्दैनन् ।
कृषि र पशुपालनमा प्रशस्तै सम्भावना भएको यस ठाउँबाट स्थानीयले लाभ लिन नसकेको वडाध्यक्ष पुनको भनाइ छ । घुम्ती गोठलाई व्यवस्थित बनाइ त्यहाँ व्यावसायिक कृषि गर्ने सोच भए पनि स्थानीयको बेवास्ताका कारण त्यसो गर्न नसकिएको उहाँको भनाइ छ । “गाउँपालिका र वडाले पैसा दिन्छ, अलि फरक तरिकाले पशुपालन गरौँभन्दा पनि मान्नुहुन्न”, वडाध्यक्ष पुनले भन्नुभयो ।
उहाँका अनुसार यहाँका बासिन्दाको आम्दानीको मुख्य स्रोत भनेकै वैदेशिक रोजगार हो । विदेशबाट आउने रेमिट्यान्सले नै यहाँको दैनिकी धानिएको छ । चिसो बढेसँगै मुना, लुलाङ र गुर्जाका किसानले घुम्ती गोठ बेँसी झार्ने गर्दछन् । गर्मी बढेसँगै माथि लैजाने चलन कायम रहेको छ ।
धवलागिरि गाउँपालिका क्षेत्रमा भेडापालनको प्रचुर सम्भावना रहेकाले आफूले पनि यस पेसालाई अँगालेको धवलागिरि–५ का देवान छन्त्याल बताउनुहुन्छ । पछिल्लो समय यस क्षेत्रमा रहेका परम्परागत गोठ विस्तारै घट्दै गएको, युवाहरूको आकर्षण नबढेको र पुराना गोठ पनि बिक्री गर्ने प्रचलन बढेकाले भेडापालन व्यवसायलाई प्रवर्द्धन गर्न स्थानीय सरकार र सम्बद्ध निकायको ध्यान जान जरुरी रहेको उहाँको भनाइ छ ।
बेँसीबाट धवलागिरिको आधार शिविरसम्म नै भेडीगोठ सारिरहने प्रचलन छ । गोठको सुरक्षाका लागि भोटेकुुकुर पहिलो रोजाइमा पर्छ । चार पुस्तादेखि व्यावसायिकरूपमा भेडाबाख्रा पाल्दै आएका रघुगङ्गा–२ साझपानीका नन्दबहादुर भण्डारीको भेडीगोठको इतिहास एक सय सात वर्षको रहेको छ । उहाँले जाडो समयमा बेँसी र गर्मी समयमा धवलागिरि, अन्नपूर्ण र निलगिरि हिमालको काखमा भेडाको बथान पुर्याउने गर्नुहुन्छ ।
अन्य आम्दानीको आधार नभएपछि परिवारको खर्च जुटाउन घुम्ती गोठ राखेर भेडापालन गरेको उहाँको भनाइ छ । उहाँले पशुलाई आहाराको कमी हुन नदिन चिसोको समयमा घुम्ती गोठ बेँसी झार्नुहुन्छ भने गर्मीको समयमा लेकतर्फ उकाल्ने गरेको बताउनुभयो ।
लामो सयमदेखि खोप्रालेकको आसपासमा बाल्यकालदेखि नै भेडा–बाख्रापालन गरेका ६५ वर्षीय तुलबहादुर तिलिजाको गोठमा दुई सय ७० भेडाबाख्रा छन् । विस्थापित भएर अन्य पेसा तत्काल गर्न नसक्ने अवस्थामा हुँदा भेडापालन गरिरहेको उहाँले बताउनुभयो ।