फाइल तस्वीर भारतीय विदेशमन्त्री जयशङ्कर ।


नयाँदिल्ली — भारतले पाकिस्तानको सीमापार नीतिलाईअप्रासङ्गिक बनाएको छ । भारतीय विदेशमन्त्री जयशङ्करले आतङ्कवादको अभ्यासलाई वैध मानिएका शर्तहरूमा भारतले सम्झौता नगर्ने बताउनु भएको हो ।

एएनआईसँगको अन्तर्वार्तामा विदेश मन्त्री जयशङ्करले भारत पाकिस्तानसँग सम्झौता गर्न इच्छुक नरहेको बताउदै आतङ्क र शत्रुतामुक्त वातावरण बनाउनु पर्ने उल्लेख गर्नुभएको छ । पाकिस्तानसँगको मोदी सरकारको दृष्टिकोणलाई उल्लेख गदै उहाँले सीमापार आतङ्कवादलाई नसहने बताउनु भएको छ ।

पाकिस्तानले दशकौ अघिदेखि भारतलाई टेबुलमा ल्याउन सीमापार आतङ्कवादको प्रयोग गरेको बताउदै आफूहरुले त्यस्ता विषय अप्रासङ्गिक बनाएको बताउनु भएको छ । पाकिस्तान आफ्नो नजिकको छेमेकी भएको स्वीकार गर्दै उहाँले पाकिस्तानले तयार पारेका शर्तहरूको आधारमा व्यवहार नगर्ने बताउनु भएको छ ।

भारतले गत वर्ष अगस्टमा पाकिस्तानसँगको सम्बन्धलाई सामान्यीकरण बनाउनका लागि आतङ्कवाद र शत्रुतामुक्त वातावरण आवश्यक रहेको बताएको थियो । मन्त्री जयशङ्करले एएनआईसँगको अन्तर्वार्तामा पाकिस्तानको भविष्य पाकिस्तानको आफ्नै कार्य र छनौटबाट निर्धारण हुने भन्दै छिमेकीको हैसियतले आर्थिक समस्याबाट बाहिर निस्कन आवाश्यक रहेको बताउनु भएको छ ।

मन्त्री जयशङ्करले आर्थिक सङ्कटबाट गुज्रेको श्रीलङ्कालाई भारतले गरेको सहयोगको सन्दर्भ उल्लेख गर्दै श्रीलङ्कासँग एकदमै फरक सम्बन्ध भएको बताउनुभएको छ । पाकिस्तानको अवस्था तथा भविष्य धेरै हदसम्म पाकिस्तानकै क्रियाकलापले निर्धारण गर्ने जिकिर गर्दै मन्त्री जयशङ्करले कोही पनि अचानक कठिन परिस्थितिमा नपुग्ने बताउनुभएको छ ।

पाकिस्तान पछिल्लो समयमा घट्दो, विदेशी मुद्रा सञ्चिति, उच्च मुद्रास्फीति तथा मुद्राको तीव्र अवमूल्यन लगायतका आर्थिक कठिनाइसँग जुधिरहेको छ ।