तस्वीरमा नेपाली काङ्ग्रेसका सांसद दीपक खड्का ।


काठमाडौँ — सत्ता गठबन्धनको मुख्य दल नेपाली काङ्ग्रेसका सांसद दीपक खड्काले सरकारलाई दवाव दिनका लागि आफु अनशन बस्ने घोषणा गर्नुभएको छ । सांसद खड्काले वन मन्त्रालयले आफ्नो लगानीमा खुल्न लागेको रिसार्टलाई अनुमति नदिएर दुःख दिएको भन्दै अनशन बन्न लागेको जानकारी गराउनुभएको हो ।

सांसद् खड्काले आफ्नो काम अझैपनि हुन नसकेको खण्डमा मन्त्रालयभित्र अनसन बस्ने चेतावनी दिनुभएको छ । नेता खड्काले रिसोर्ट सञ्चालनको स्वीकृतिका लागि चार वर्ष अघि फाइल पेश गरेको बताउँदै सरकारी निकायले अनुमति नदिएर झुलाएको आरोप लगाउनुभएको छ ।

सोही विषयलाई लिएर मन्त्री र सचिवसँग आफ्नो वादविवाद समेत भएको उल्लेख गर्दै सांसद खड्काले भन्नुभयो ‘चार वर्ष भएछ फाइल थन्केर बसेको । सुरुमा कर्मचारी नभएको कारण देखाउँदै फाइल थन्क्याइयो । पछि ईआईए पास नभईकन निर्माण थालिएछ भनेर ५ लाख रुपैयाँ पेनाल्टी तिराउनु भयो । पेनाल्टी तिरेर सुनुवाइ भइसकेपछि फेरि निकुञ्जको कार्यविधिअनुसार भएन । राष्ट्रिय निकुञ्जको कार्यविधिअनुसार निकुञ्जभित्र साढे दुई तलाभन्दा अग्लो भवन बनाउन पाइँदैन भन्न जवाफ आयो ।’

पर्यटन व्यवसायी सांसद् खड्काले रोजगारी सिर्जना गर्ने व्यवसायिक होटललाई असहयोग गरेको भन्दै मन्त्रालयप्रति आक्रोश व्यक्त गर्नुभएको छ । उक्त रिसोर्टको संरचनामा निर्माणमा अहिलेसम्म साढे ३ अर्ब रुपैयाँ लगानी भइरहेको नेता खड्काको दावी छ ।