तस्वीरमा चीनका नयाँ रक्षामन्त्री डोङ जुन ।

बेइजिङ — चीनले आफ्नो नयाँ रक्षामन्त्रीका रूपमा डोङ जुनलाई नियुक्त गरेको छ । रक्षामन्त्री रहेको ली साङ्फुलाई दुई महिना अघि बर्खास्त गरेको पछि नयाँ रक्षामन्त्रीको रुपमा पूर्वनौसेना कमान्डर डोङ जुनलाई नियुक्त गरेको हो ।

शुक्रबार बेइजिङमा बसेको चिनियाँ राष्ट्रिय जनकाङग्रेसको स्थायी समितिको बैठकमा चीनका शीर्ष विधायकले डोङ जुनको नियुक्तिको घोषणा गरेका थिए । नयाँ रक्षामन्त्री डोङलाई सन् २०२१ को अगस्टमा नौसेनाको कमान्डर बनाइएको थियो ।

सन् २०२४ को सुरु हुनेक्रमसँगै चीनले देशका धेरै उच्च सैन्य अधिकारीहरूलाई बर्खास्त गरेपछि नयाँ रक्षामन्त्री नियुक्त गरेको छ । नयाँ रक्षामन्त्री डोङ जुनले चिनियाँ सेनाको दक्षिणी थिएटर कमान्डको उपकमान्डरका रूपमा काम गर्नुको साथैे दक्षिण चीन सागरजस्ता विवादित क्षेत्रको जिम्मेवारी समेत सम्हालेका थिए ।

चीनले रक्षामन्त्रीबाट ली साङफुलाई हटाउनाका साथै किन ग्याङलाई पनि विदेशमन्त्री पदबाट हटाएको थियो । यी दुईलाई बर्खास्त गर्नुको कारण भने खुलाइएको छैन । दुवै जना सात महिना मात्र आफ्नो पदमा बस्न पाएका थिए ।

चीनले अमेरिकासँग सैन्य वार्ता गर्नु अघि पूर्व रक्षामन्त्री ली साङ्फुलाई बर्खास्त गरेको थियो । समाचार एजेन्सी रोयटर्सले चीनको सरकारी सञ्चारमाध्यम सिन्ह्वालाई उद्धृत गर्दै शुक्रबार स्थायी समितिबाट नौ वरिष्ठ सैन्य अधिकारीलाई हटाएको जनाएको छ।

चीनको सरकारी सञ्चारमाध्यमका अनुसार राज्यको स्वामित्वमा रहेको क्षेप्यास्त्र प्रतिरक्षा कम्पनीका तीन अधिकारीलाई पनि यस हप्ताको सुरुमा चीनको शीर्ष राजनीतिक सल्लाहकार निकायबाट हटाइएको छ ।