फाइल तस्वीर


काठमाडौँ — राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । एनएुसएल उपाधिका लागि आज शनिबार साविक उपविजेता धनगढी एफसी र ललितपुर सिटी एफसीबीच फाइनलमा प्रतिस्पर्धा हुन लागेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने फाइलन खेल साँझ साढे ५ बजेदेखि सुरु हुने एन्फाले जनाएको छ । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणले आज नयाँ च्याम्पियन टिम पाउनेछ । लगातार दोस्रो पटक फाइनलमा प्रतिस्पर्धाका लागि उत्रिएकोे धनगढीले ललितपुर ुिसटीलाई पाखा लगाउँर्द पहिलो पटक उपाधि उचाल्ने योजनाका साथ मैदानमा उत्रिने छ भने ललितपुर सिटी पनि पूर्व उपविजेता धनगढीलाई पाखा लगाउँदै उपाधि जित्ने रणनीतिका साथ मैदानमा उत्रिने छ ।

पहिलो पटक फाइनलमा पुगेको ललितपुर उपाधि होडमा छ । लिगमा उतारचढावपुर्ण यात्रा तय गरेको ललितपुर यो मौकालाई खेर जान दिने पक्षमा छैन।

धनगढीले पहिलो क्वालिफायरमा पोखरा थन्डर्स एफसीलाई टाइब्रेकरमा ४–३ ले पराजित गदै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो । निर्धारित ९० मिनेट १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि २–२ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

ललितपुरले पनि दोस्रो क्वालिफायरमा पोखरालाई नै २–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । ललितपुरले निर्धारित ९० मिनेटमा १–१ को बराबरी गरेसँगै खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलको ९९ औं मिनेटमा कुशल देउवाको निर्णायक गोलमा ललितपुरले फाइनलमा स्थान बनाएको थियो ।

लामो समयको विश्राम पछि धनगढी आज फाइनल खेलमा उत्रँदै छ । उसका खेलाडीहरुले आराम पाएका कारण धनगढीले आज हुने फाइनलमा उत्कृष्ट खेल प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । एक दिनको मात्र विश्राम पाएका ललितपुरका खेलाडी केही दवावमा हुन सक्नेछन् । यस्तै फाइनलमा ललितपुरले मिडफिल्डर निखिल सुरेशराओ कदमलाई पोखराविरुद्धको खेलमा रातो कार्ड पाएका कारण गुमाउने भएको छ ।

अङ्क तालिकाको चौथो स्थानमा रहँदै एलिमिनेटरमा स्थान बनाएको ललितपुरले साविक विजेता काठमाडौं रेजर्सलाई ३–० ले हराउँदै दोस्रोस्थान बनाएको थियो ।

एनएसएलको उपाधि विजेताले टिमले ७० लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेता टिमले भने २० लाख रुपैयाँ प्राप्त गर्नेछ । यसैगरी सर्वोत्कृष्ट खेलाडीले दुई लाख रुपैयाँ पाउनेछन् भने लिगको सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उदियमान खेलाडीले जनही एक÷एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।