फाइल तस्वीर
बाँके — नेपालगञ्जका तारे होटलले अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि विशेष कार्यक्रम तय गरेका छन् । अङ्ग्रेजी नयाँ वर्ष २०२४ का अवसरमा यहाँस्थित होटल सिद्धार्थले सांस्कृतिक कार्यक्रमसहित नयाँ वर्ष विशेष कार्यक्रम आयोजना गर्ने भएको हो ।

“नेपालगञ्जमा चर्चित गायक प्रकाश दूतराजसहित स्थानीय कलाकारको विभिन्न प्रस्तुति रहने गरी नयाँ वर्षको कार्यक्रम तय भएको छ”, सिद्धार्थ ग्रुपका निर्देशक केशव न्यौपानेले भन्नुभयो, “यसले आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँ ल्याउन र पर्यटन क्षेत्र चलायमान बनाउन भूमिका खेल्ने छ ।”

कार्यक्रममा सीमावर्ती भारतका विभिन्न क्षेत्रबाट उत्साहजनक सहभागिता हुने न्यौपानेले बताउनुभयो । नयाँ वर्षको विशेष कार्यक्रममा छ सय बढीलाई सहभागी गराउने गरी तयारी गरिएको उहाँको भनाइ थियो ।

होटल सोल्टीले पनि आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि नयाँवर्ष विशेष कार्यक्रम आयोजना गरेको छ । आर्थिक मन्दीले सुनसान जस्तै बनेका तारेहोटललाई नयाँ वर्ष विशेष कार्यक्रमले केही चलायमान बनाउने आशा गरिएको होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष भास्कर काफ्लेले बताउनुभयो । कार्यक्रमले तारे होटलसँगै अन्य मध्यम होटलमा पनि चहलपहल गराउने र पर्यटन प्रवर्द्धनमा सहयोगी बन्ने उहाँको भनाइ थियो ।

एक दशकयता नेपालगञ्जमा तारेसहित दर्जन बढी सुविधासम्पन्न होटल सञ्चालनमा छन् । सोल्टी, स्नेहा, सिद्धार्थ, सिटी प्यालेस र स्टार लाइटलगायत सुविधासम्पन्न होटलले विशेषतः भारतीय पर्यटकलाई लक्ष्य बनाएको होटल व्यवसायी महासङ्घ बाँकेका पूर्वअध्यक्ष भीम कँडेलले बताउनुभयो । उहाँका अनुसार नेपालगञ्ज र कोहलपुरमा होटल व्यवसायमा १२ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । यसअघि सञ्चालनमा आएका होटललाई पनि स्तरोन्नति गरेर लगानी बढाउनेक्रम जारी छ ।