काठमाडौँ — हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । यतिबेला देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा देशका बाँकी तराई भूभागका एक–दुई स्थानमा अहिले हल्का देखि मध्यम हुस्स र कुहिरो लागेको छ ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने छ भने आज राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ ।

भोलि शनिबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश आंशिक बदली रहने छ । शनिबार कोशी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।