गण्डकी — ‘एकको उपहार, अर्काको सरोकार’ भन्ने नाराका साथ पुराना सामान पुनः प्रयोग एवं प्रशोधन गरी त्यसलाई सुपथ मूल्यमा बेच्ने र आम्दानीलाई सामाजिक उपयोगमा लगाउँदै आएको सुखावती फाउन्डेसनले पोखरामा सहयोगको हात फैलाउन सुरु गरेको छ ।

समाज कल्याण परिषद्मा दर्ता गरी शिक्षा र महिला उद्यमशीलता निर्माणका लागि क्रियाशिल हुँदै  आएको सो संस्थाले गत अक्टोबरदेखि पोखरा महानगरपालिका–१७ स्थित पावरहाउस नजिक नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

प्रयोग भइसके पनि पुनःप्रयोग गर्न मिल्ने सामग्री सङ्कलन/प्रशोधन गरी न्यून मूल्यमा बिक्री गरेर भएको आम्दानी परोपकारी काममा लगाउँदै आएको यस संस्थाले सन् २०१४ देखि सडकबाटै आफ्नो सेवा सञ्चालन गरेको व्यवस्थापक चित्र दाहालले जानकारी दिनुभयो ।

“सन् २०१५ मा कानुनीरुपबाटै नाफा वितरण नगर्ने संस्थाका रुपमा सेवा सुरु गरिएको सुुखावती स्टोरका  काठमाडौँमा तीन वटा शाखा सञ्चालनमा आइसकेका छन्”, उहाँले भन्नुभयो, “मा यही अक्टोबर १ देखि पोखरा महानगरपालिका–१७ पावरहाउसस्थित डमरु मार्केटमा चौथो नयाँ शाखा सञ्चालनमा ल्याइएको छ ।”

पोखरामा शाखा सञ्चालन गरेर मानवकल्याण, रोजगारी सिर्जना र खेर गइरहेको सामग्रीको यथासम्भव पुुनःप्रयोग गर्ने संस्कृतिलाई बढावा दिँदै वातावरणीय संरक्षणमा योगदान दिने अभियानमा पोखरावासीको साथ र सहयोग मिल्ने विश्वास लिइएको उहाँले बताउनुुभयो ।

एकको पुरानो सामान अर्काका लागि नयाँ हुनसक्ने बताउने फाउन्डेशनका अध्यक्ष चिजमान गुरुङले ‘माया बाँडौँ खुसी बढाउँ’ भन्ने नाराका साथ आफूहरूले अभियान थालेकोे जानकारी दिनुभयो  । फाउन्डेशनको तर्फबाट भूकम्पमा निधन भएका परिवारका छोराछोरीलाई शिक्षादिक्षाका साथै अन्य विभिन्न सामाजिक सेवाका क्षेत्रमा सहयोग गरिएको उहाँको भनाइ थियो ।

“हामी यो अभियानमार्फत स्वदेशमा कसरी रोजगारी बढाउन सकिन्छ भन्ने दीर्घकालीन सोचमा पनि छौँ”, अध्यक्ष गुरुङले भन्नुभयो, “प्रयोग गर्न मिल्ने एकका पुराना समान अर्कालाई सुपथ मूल्यमा प्रदान गरी आएको मूल्यलाई सामाजिक सेवामा लगाउँदै आएका छौँ ।”

आफूहरूले स्थापना गरेको सुखावती स्टोरमा हुनेखानेले दान सहयोग गर्नसक्ने र हुँदा खानेले अति समान्य मूल्यमा लत्ताकपडा तथा अन्य सामग्री लिएर घर फर्कनसक्ने उहाँको भनाइ थियो । सुखावती स्टोरमा आफूले प्रयोग गर्न छोडेका तर अरुलाई उपयोग हुनसक्ने कपडा, भान्साका सामान, विद्युतीय सामग्री, गमला र प्रयोगमा आउनसक्ने जुनसुकै सामान पनि राख्ने गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।