फाइल तस्वीर
कोलम्बो — श्रीलङ्काको उपभोक्ता मामिला प्राधिकरण (सीएए) ले बिहीबार यस वर्षको शुरुदेखि तेस्रो हप्तासम्म गरिएको छापामारीमा करिब २६ करोड रुपैयाँ (८ लाख अमेरिकी डलर) जरिवाना सङ्कलन गरेको जनाएको छ । प्राधिकरणका अध्यक्ष शान्था निरिएलाले उपभोक्ता ऐन विपरीत गरिएका कारोबार विरुद्ध २२ हजार स्थानमा छापा मारी कारबाही प्रक्रिया अगाडि बढाएको बताउनु भएको छ ।

कारबाही पर्नेहरूमा प्रायः चर्को मूल्यमा सामान बेच्ने, कृत्रिम तरिकाले अभाव देखाउन मौज्दात राख्ने, म्याद नाघेका सामान बेच्ने र मूल्य अङ्कित नगरी सामान बेच्ने लगायतका छन् । चाडपर्वलाई ध्यानमा राख्दै यो महिना हालसम्म एक हजार १८५ छापा मारिएको छ ।

हेरक वर्ष क्रिसमस र नयाँ वर्षका समयमा उपभोक्तालाई ठग्ने गतिविधि व्यापक बढेको पाइन्छ । आर्थिक मन्दीले ग्रस्त श्रीलङ्काले कालोबजारी विरुद्ध निर्मम तरिकाले कारबाही अगाडि बढाएको छ ।