फाइल तस्वीर
रोम — दुई वर्षअघि रोमको सिटी सेन्टरमा हिंसात्मक प्रदर्शनमा भूमिका निर्वाह गरेको आरोपमा इटालीमा दुई सीमान्त नव–फासीवादी समूहका नेताहरूलाई आठ वर्षभन्दा बढीको कारागार सजाय गरिएको छ । फोर्जा नुवाका ६४ वर्षीय नेता रोबर्टो फियोरलाई बुधबार रोमको एक अदालतले आठ वर्ष छ महिनाको कारागार सजाय सुनाएको हो ।

फोर्जा नुवाका पूर्व रोम नेता गिउलिआनो कास्टेलिनोलाई आठ वर्ष सात महिनाको कारागार सजाय दिइएको छ । कास्टेलिनोले गत वर्ष आफ्नै राजनीतिक आन्दोलन इटालिया लिबरा गठन गर्नुभएको थियो । दुवै अहिले कारागारमा हुनुहुन्न । इटालीको कानूनी प्रणालीअन्तर्गत उहाँहरू स्वचालित अपिलबाट लाभान्वित हुनुहुन्छ । समूहका अन्य पाँच सदस्यलाई पनि कारागार सजाय सुनाइएको छ ।

सन् १९९७ मा स्थापना भएको फोर्जा नुवाले गर्भपतनमाथि प्रतिबन्ध, आप्रवासीमाथि पूर्ण रोक र घृणास्पद भाषण कानूनहरू खारेज गर्न आह्वान गरेको छ । उक्त पार्टीले अन्य अति दक्षिणपन्थी समूहरूसँग गठबन्धन गर्दा पनि कहिले पनि कुनै पनि निर्वाचनमा शून्य दशमलव पाँच प्रतिशत मत हासिल गर्न सकेको छैन ।

सन् २०२१ अक्टोबरमा कोभिड–१९ को फैलावट रोक्ने कदमहरू विरुद्ध विरोध भएपछि हिंसा भड्किएको थियो । प्रदर्शनकारीहरूले प्रहरीसँग झडप गरे र सिजिआइएल ट्रेड युनियन फेडरेसनको मुख्यालयसहित परिसरमा तोडफोड गरेका थिए ।