साङ्केतिक तस्वीर


काठमाडौँ — पछिल्लो समय धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक निरन्तर बढिरहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज बुधबार पनि नेप्से परिसूचक ३५ दशमलव ३९ अङ्कले बृद्धि हुँदै दुई हजार एक सय ४१ दशमलव ८७ मा पुग्न सफल भएको हो ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ९३ अङ्कले उकालो लागेर चार सय दुई दशमलव ६३ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ११ उपसमूहको शेयर मूल्य भने वृद्धि भएको छ ।

कूल एक करोड ९९ लाख ६३ हजार छ सय चार कित्ता शेयर सात अर्ब ९५ लाख ७५ हजार एक सय ७६ रुपैयाँ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको ३७ करोड ३४ लाख ९७ हजार दुई सय ६८ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

सोल्टी होटलको चौबीस करोड ५३ लाख ७७ हजार छ सय ४० रुपैयाँ, सोनापुर मिनरल्सको २० करोड १५ लाख २४ हजार तीन सय ९१ रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको अठार करोड १३ लाख २३ हजार सात सय छ रुपैयाँ र नेपाल पूर्वाधार बैंकको सत्र करोड ५४ लाख ८३ हजार पाँच सय ९० रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज विभिन्न १३ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, कुमारी धनवृद्धि योजना तीन दशमलव ८२, नेरुडे लघुवित्त तीन दशमलव ६५, माथिल्लो मैलुङ तीन दशमलव ६४, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक तीन दशमलव ४५ र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले तीन दशमलव ३९ प्रतिशतले गुमाएका छन् ।