मनहरी — अर्थमन्त्री डा.प्रकाशशरण महतले पछिल्लो समय उद्योग र निर्माण व्यवसायमा देखा परेको समस्या तत्काल समाधान गरिने जानकारी दिनुभएको छ । मकवानपुर उद्योग वाणिज्य सङ्घद्वारा आज हेटौँडामा आयोजित छलफल कार्यक्रममा अर्थमन्त्री डा.महतले बैँकको ब्याजदर र भुक्तानी सम्बन्धी क्षेत्रमा देखिएका समस्या सम्बोधन गरिने बताउनुभएको हो ।


अर्थमन्त्री डा महतले हेटौँडामा रहेको औद्योगिक क्षेत्रलाई उद्योग वाणिज्य र निजी क्षेत्रसँगका सहकार्यमा अघि बढाउने र हेटौँटा सिमेन्ट उद्योगको विषयमा सरकारले छिट्टै नै निर्णय गर्ने बताउनुभयो । “पुरानो दायित्व बढ्दो क्रममा छ, अब जति आम्दानी अनुमान छ सोही अनुरुप बजेट बनाउने छौँ”, अर्थमन्त्री डा.महतले भन्नुभयो । उहाँले क्रसर उद्योगतर्फ नवीकरण र कार्यक्षेत्रको विषयमा तत्काल छलफल गरिनाका साथै मकवानपुरमा हुने मेला महोत्सवमा स्थानीय सरकार, स्थानीय प्रशासन र सुरक्षा निकायसँग सहकार्य गरी काम गर्न आग्रह गर्नुभयो ।

सङ्घका अध्यक्ष कृष्णकुमार  गुप्ता र निर्माण व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले आ–आफ्नो क्षेत्रमा परेका विभिन्न विषय उल्लेख गरी  ध्यानाकर्षणपत्र बुझाउनु भएको थियो । 
सो अवसरमा  नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्ण कटुवाल, काङ्ग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामा, हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं, प्रहरी प्रमुख सीताराम रिजाल, सशस्त्र प्रहरी गण १४ नंका प्रहरी उपरीक्षक अनिल बुढाथोकीलगायत उद्योगी–व्यवसायीहरुको सहभागिता थियो ।