फाइल तस्वीर
गोरखा — उत्तरी गोरखाको धार्चे गाउँपालिकाको सदरमुकाम रहेको माछिखोला बजारलाई सिसी क्यामेरामार्फत निगरानी गर्न थालिएको छ । गाँउपालिकाको केन्द्र रहेको माछाखोला बजारमा शुक्रबारदेखि सिसी क्यामेरा जडान गरी निगरानी गर्न थालिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।

‘‘माछिखोलामा बजार क्षेत्र विस्तारसँगै सुरक्षाको चुनौती बढेकाले बजारमा सिसी क्यामेरा जडान गरिएको छ,” उहाँले भन्नुभयो, ‘‘थोरै सृुरक्षाकर्मी रहेकाले बजारलाई सुरक्षित राख्न माछिखोला बजारसहित आसपासका सात ठाउँमा सिसीक्यामेरा जडान गरिएको छ ।”

अहिले जडान गरिएका क्षेत्रबाहेक आवश्यकताअनुसार अझै बजार क्षेत्रमा क्यामेरा थप गर्दै लैजाने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । अहिले बसपार्क क्षेत्रमा दुई वटा, रेसेखोला क्षेत्र, जनजागृति स्कुल तथा सो क्षेत्रमा रहेको बजारसमेटिने गरी तीनवटा क्यामेरा जडान गरिएको छ ।

त्यस्तै गाउँपालिका भवन क्षेत्रको उत्तर दक्षिण बजार समेट्ने गरी दुई र तल्लो बजार क्षेत्रमा एउटाका साथै पालिका कार्यालयभित्र थप चार वटा क्यामेरा जडान गरिएको छ । जडान गरिएका सिसी क्यामेरा रातको समयमासमेत स्पस्ट देख्न सकिने क्षमताको रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताउनुभयो । “माछिखोला बजार क्षेत्रको सुरक्षाका लागि जडान गरिएको क्यामेरा चौविसै घण्टा सञ्चालनमा आउनेछन्”, उहाँले भन्नुभयो, ‘‘रातदिन सञ्चालन गर्नाका लागि विद्युत्को समस्या नहोस् भनेर सोलारसहित क्यामेरा जडान गरिएको छ । जडान भएका सातवटा क्यामेराले बजार क्षेत्रको सहजै अनुमगन गर्न सकिन्छ।”क्यामेरा जडानका लागि करिब पाँच लाख रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।