फाइल तस्वीर
नयाँदिल्ली — भारतको सङ्घीय संसद् अवरुद्ध गरेको आरोपमा सांसद्हरुलाई निलम्बन गरिएको छ । भारतीय सङ्घीय संसदका विपक्षी दलका ७८ जना सांसद्लाई ‘पटक–पटक संसद्को कार्यवाही अवरुद्ध गरेको’ भन्दै जारी हिउँदे अधिवेशनको बाँकी अवधिका लागि निलम्बन गरिएको हो ।

भारतीय संसद्को तल्लो सदन लोकसभाका ३३ र माथिल्लो सदन राज्यसभाका ४५ जना सांसद्लाई निलम्बन गरेपछि भारतको संसदीय इतिहासमा सांसद्हरूको सबैभन्दा ठूलो निलम्बन हो । गत साता लोकसभाका १३ र राज्यसभाका एक गरी १४ सांसद्लाई सदनको कार्यवाहीका क्रममा ‘अमर्यादित आचरण’ गरेको भन्दै निलम्बित गरिएको थियो ।

त्यसैगरी, गत डिसेम्बर १३ मा दुई जना युवाले भिजिटर्स ग्यालरीबाट लोकसभा प्रवेश गरी सङ्घीय सरकारविरुद्ध नाराबाजी गर्दै रङ फ्याँकेपछि संसद्भित्र सुरक्षा उल्लङ्घनको विषय उठाउँदै पटक–पटक स्थगन भएपछि सांसदहरूलाई निलम्बन गरिएको थियो ।

यसै सन्दर्भलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरक्षा उल्लङ्घनको घटना ‘अत्यन्त गम्भीर’ भएको बताउनुभएको छ । हिजो सोमबार निलम्बित विपक्षी सांसद्हरूले सांसद्हरूको निलम्बन फुकुवा गर्न र सङ्घीय गृहमन्त्री अमित शाहले गत हप्ता संसद् सुरक्षा उल्लङ्घनको घटनालाई लिएर वक्तव्य जारी गर्न माग गर्नुभएको थियो । निलम्बनपछि लोकसभाको नियमित कारबाही सोमबार दिनभरका लागि स्थगित गरिएको थियो ।