फाइल तस्वीर


गान्सु — चीनमा शक्तिशाली भूकम्पका कारण भवनहरु भत्किँदा एक सयभन्दा बढी मानिसको मृत्युभएको छ । प्राप्त समाचारमा जनाइए अनुसार चीनको उत्तरपश्चिम क्षेत्रमा पर्ने गान्सु प्रान्तमा सोमबार राति आएको शक्तिशाली भूकम्पमा परी एकसयभन्दा बढी मानिसको मृत्यु भएको हो ।

चिनियाँ अधिकारीहरुलाई उदृत गर्दै दुईसय जनाभन्दा धेरै मानिसहरु घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमले सोमबार राति गान्सु प्रान्तमा ६ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको पुष्टिगरेको छ ।

भूकम्पको कारण भत्किएका भौतिक संरचनाको भग्नावशेषमा धेरै मानिसहरु पुरिएको आशङ्का गरिएको छ । भग्नावशेषमा पुरिएर थप मानिसहरुको मृत्यु हुन सक्ने समाचारमा जनाइएको छ ।

भूकम्पकै कारण छिमेकी प्रान्त क्विङहाईको हाइडोङ सहरमा पनि ११ जनाको मृत्यु भएको छ भने एक सय जनाभन्दा धेरै घाइते भएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ ।

समाचारमा जनाइए अनुसार भूकम्प लिनक्सिया चेङगुआन्जेनबाट करिब २३ माईल पश्चिम उत्तरपश्चिममा ६ माइलभन्दा कम गहिराइमा गएको थियो । प्रान्तीय राजधानी लान्झाउ भूकम्पको केन्द्रबिन्दुबाट करिब ६० माइल टाढा छ ।