फाइल तस्वीरः भूकम्पबाट भत्केका घर


रुकुम पश्चिम — रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा चार हजार दुई सय ८२ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । आठबिसकोटमा सात हजार लाभग्राही रहेका मध्ये चार हजार दुई सय ८२ लाभग्राहीले पहिलो किस्ता प्राप्त गरेका हुन् ।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पले रुकुम पश्चिम र जाजरकोटमा मानवीय र भौतिक क्षति पुगेको थियो ।

पहिलो किस्ता वापत लाभग्राहीको खातामा २५ हजार रुपैयाँका दरले रकम जम्मा भएको छ । अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापत २५ हजार रुपैयाँका दरले लाभग्राहीलाई १० करोड ७० लाख ५० हजार रुपैयाँ खातामा पठाएको आठबिसकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिनुभयो । निमित्त प्रमुख शाहका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषबाट भने सात हजार लाभग्राहीका लागि पहिलो किस्ताबापत १७ करोड ५० लाख रुपैयाँ प्राप्त भएको छ । जिल्ला विपद् व्यवस्थापन कोषबाट प्राप्त भएको बाँकी रकम पनि लाभग्राहीको बैंकमा खाता सञ्चालन हुने बित्तिकै पठाइने निमित्त प्रमुख शाहले जानकारी दिनुभयो ।

नगरपालिकामा अस्थायी आवास निर्माण गर्न नौ हजार नौ सय ६२ लाभग्राहीको सङ्ख्या यकिन भएको छ । जिल्ला विपद् व्यस्थापन कोषबाट पहिलो किस्ताबापत अझै दुई हजार नौ सय ६२ लाभग्राहीको लागि रकम आउन बाँकी रहेको प्रशासकीय अधिकृत शाहले जानकारी दिनुभयो । जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय जोखिम न्यूनीकरण कोषमा प्राप्त भएको रकम बैंक खाता सञ्चालन भएका लाभग्राहीलाई धमाधम रकम पठाउने काम भइरहेको नगरपालिकाले जनाएको छ । हालसम्म नगरपालिकामा दुई हजार दुई सय ४० अस्थायी आवास निर्माण सम्पन्न भइसकेको र बाँकी तिन हजार छ सय ९० अस्थायी आवास निर्माणको चरणमा रहेको नगरपालिकाले जनाएको छ ।