फाइल तस्वीर


काठमाडौं — ट्रान्सफर्मर स्तरोन्नति गर्न नेपाल विद्युत प्राधिकरणले आज बिहानदेखि काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुन लागेको हो ।

टेकु सब स्टेसनबाट विद्युत वितरण गरिंदै आएकोले उक्त सब स्टेशनबाट स्वास्थ्य सेवा विभाग परिसर, भिमसेनस्थान, रामघाट, मरुहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्को, ब्रम्हटोल, जैसीदेवल चोकसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

त्यस्तै ज्याबहाल, चिकुमङ्गल, झोसे, ओमबहाल, भोटेबहाल, यङ्गाल, लगन, महाबौध्द, भोटाहिटी, असन, बाङ्गेमुढा, इन्द्रचोक, सुन्धारा, सेन्ट्रल जेल, रङ्गशाला अगाडि, न्युरोड, वसन्तपुर दरबार स्क्वायर, रविभवन, सोल्टीमोड, सुनारगाउँ, आर्मी हस्पिटल, नख्खु चोक, बागडोल, धोबीधारा, मलपोखरी, धोबीघाटलगायतका क्षेत्रमा विद्युत् कटौती हुनेछ ।

प्राधिकरणले सूचना जारी गर्दै आज बिहान नौ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको हो ।