फाइल तस्वीर
काठमाडौं — देशमा एकलौटी इन्धनको व्यापार गर्दै आएको नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटरमा तीन रुपैयाँ मूल्य घटाएको हो ।

भारतीय आयल निगमले हिजो मङ्सिर २९ गते शुक्रबार पठाएको नयाँ मूल्य अनुसार पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको छ । भारतबाट घटेर आएको आधारमा निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटरमा तीन रुपैयाँ मूल्य घटाएको छ ।

निगमले काठमाडौं, पोखरा र दिपालय क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६७ रुपैयाँ तथा डिजल तथा मट्टीतेलको मूल्य प्रतिलिटर एक सय ५७ रुपैयाँ निर्धारण गरेको छ ।

यसैगरी झापा, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटरसम्मको क्षेत्रमा मुल्य पेट्रोलको लिटरको एक सय ६४ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टीतेलको लिटरको एक सय ५४ रुपैयाँ ५० पैसा तोकेको छ ।

निगमले सुर्खेत र दाङ डिपोको १५ किलोमिटरसम्मको क्षेत्रमा पेट्रोलको प्रतिलिटर मूल्य एक सय ६६ रुपैयाँ र डिजल तथा मट्टीतेलको प्रतिलिटरको मूल्य एकसय ५५ रुपैयाँ पर्ने आयल निगमले जनाएको छ ।