मनिला — फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले विदेशी लगानी आकर्षण गर्नका लागी आफ्नो देशको संविधान संशोधन गर्ने आवश्यकता अध्ययन गर्न शुक्रबार आदेश दिनुभएको छ । राष्ट्रपति मार्काेसले गत वर्ष राष्ट्रपति बने लगत्तै संविधानमा रहेका केही भागले विदेशी लगानीकर्तालाई निरुत्साहित तथा प्रतिबन्धित गरेको टिप्पणी गर्नुभएको थियो ।

फिलिपिन्सले सन् २०८७ मा नयाँ संविधान प्राप्त गरेको थियो । जसमा राष्ट्रपतिको अवधिलाई छ वर्ष बनाइएको थियो । राष्ट्रपति मार्कोसले पत्रकारसँगको भेटमा कानुनका कुनै न कुनै प्रावधानहरूले लगानीकर्तालाई असहजता पैदा गरिरहेको उल्लेख गर्नुभएको छ । उहाँका अनुसार संविधानमा उल्लेखित आर्थिक प्रावधानले स्वदेशी तथा विदेशी लगानीकर्तावीचको समानतालाई पूर्ण रूपमा प्रतिवन्ध लगाएको छ ।

व्यावसायिक विज्ञापन, सार्वजनिक उपयोगिता निजी तथा आवासीय भवनको स्वामित्व देखि समुद्रमा माछा मार्ने लगायतका बिषयमा कायम गरिएको सिमितताको टिप्पणीसमेत राष्ट्रपति मार्कोसले गर्नुभयो । उहाँले आफ्नो प्राथमिक चासो देशलाई लगानी मैत्री राष्ट्र निर्माण गर्नु रहेको बताउनुभएको छ । मार्कोसको कार्यकाल सन् २०२८ को मध्यमा सकिँदैछ ।

यसैबचि, फिलिपिन्स्को प्रतिनिधि सभाका अध्यक्ष मार्टिन रोमुआल्डेजले पनि आगामी बर्ष संविधानका आर्थिक प्रावधानहरु परिवर्तन गर्न दबाब दिने बताउनुभएको छ । चालु बर्षको सुरुमा फिलिपिनी सदनले सन् १९८७ को संविधान संशोधन गर्न अधिवेशन बोलाउने प्रस्ताव पारित गरेको थियो ।

राजनितिज्ञहरूले संविधान संशोधन गर्न चार्टर अभ्यास प्रयोग गर्ने र मार्कोसलाई संविधानको मर्म विपरित उहाँका बुवाजस्तै लामो समय सत्तामा रहने आकाङ्क्षा भन्दै अलोचना समेत सुरु भएको छ ।