फाइल तस्वीर


काठमाडौं — नेपालमा पश्चिमी वायुको कारण देशको मौसममा आंशिक प्रभावका परेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार आज शुक्रबार कोशी, बागमती र गण्डकी प्रदेशको मौसममा आंशिक बदली हुनेछ ।

महाशाखाको मौसम बुलेटिन अनुसार अहिले तराईका केही भू–भागहरूमा हुस्सु/कुहिरो लागेको छ भने देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू–भागमा दिउँसोको मौसम आंशिक बदली हुनेछ ।

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको अवस्था रहने र देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

भोलि शनिबार भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने देखिएको छ । महाशाखाका अनुसार भोलि कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशैभरी चिसो बढिरहेकाले चिसोबाट हुन सक्ने असरबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।